
काठमाडौं, १८ असोज । नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्पूर्ण अवस्थाको बीचमा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिन आह्वान गरेको छ ।
संघका अध्यक्ष क्षितिज थेबेद्वारा आज जारी विशेष सर्कुलरमा युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको साथमा रही उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन गरिएको छ ।
सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहतका कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न कार्यकर्ताहरुलाई आग्रह गरिएको छ । साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न समेत संघले अनुरोध गरेको छ ।
त्यस्तै, विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित प्राधिकरणले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि संघले सबै संरचनालाई निर्देशन दिएको छ ।
देशभर निरन्तर भारी वर्षा भइरहेको र मौसम विज्ञान विभागले असोज २० गतेसम्म समेत भारी वर्षा हुने सम्भावना औंल्याएको सन्दर्भमा संघले सम्भावित जोखिम क्षेत्रका युवाहरूलगायत सर्वसाधारणलाई उच्च सावधानी अपनाउन पनि आह्वान गरेको छ ।









प्रतिक्रिया