२३ जेष्ठ २०८३, शनिबार

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न प्रधानमन्त्री कार्यालयको निर्देशन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी रूपमा सम्पादन गरी विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेको जनाउँदै सचिवालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

“सम्भावित डुबान हुनसक्ने क्षेत्रका बासिन्दाले अग्लो तथा सुरक्षित स्थानमा सर्नुपर्ने हुँदा त्यसको पूर्वतयारी गर्न, गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न र आधिकारिक निकायले जारी गरेको सूचना बमोजिमका स्थानमा यात्रा नगर्नु हुन अनुरोध छ”, सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।