
काठमाडौं, १७ असोज । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ ।
राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने सम्भावना बढेको जानकारी दिए ।
‘भाइलाई काठमाडौंमा राखेर पढाइरहेका थियौँ । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि बिरामी हुनुहुन्छ, कमाइ गर्ने म एक्लो हुँ । अब भाइ र आमालाई उपचार एवम् पालनपोषणमा समस्या पर्न थालेको छ,’ उनले भने ।
राजेशका अनुसार भाइको अवस्था सामान्य छ तर खुट्टा चलाउन गाह्रो भइरहेको छ, डाक्टरहरुले अब उपचार सम्भव नभएको बताएको उनले जानकारी दिए ।
राजेश आक्रोशित हुँदै भन्छन्, ‘गोली हान्न आदेश दिनेलाई कारबाही हुनुपर्छ । जीवन गुमाएका परिवार र घाइते भएर आजीवन अशक्त भएकाहरुलाई सरकारले जागिर दिनुपर्छ ।’
बडादशैंका लागि भनेर घरमा खसी किनेर ल्याएको भएपनि दशैं मनाउन नपाएको उनले बताए ।








प्रतिक्रिया