२८ असार २०८३, आइतबार

जेनजी आन्दोलनमा घाइते भएका दीपेन्द्र बस्नेतले पाए घाइते परिचयपत्र

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजनकुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दीपेन्द्र बस्नेत लगायत अरु घाइतेहरुलाई परिचयपत्र वितरण गरेका हुन् ।

दीपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरुले घाइते परिचयपत्र पाएका हुन् ।

जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागि दीपेन्द्र ढलेका थिए । दैलेख घर भएका दीपेन्द्रको हाल उपचार जारी छ र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका दैलेख भगवतीमाई गाउँपालिका–१ का २८ वर्षीय दीपेन्द्रको टाउकोमा प्रहरीको गोली लागि गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

हाल दीपेन्द्रको सोही अस्पतालमा उपचार भइरहेको छ ।