
काठमाडौं, १३ असोज । फाइनलमा चिर–प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध पाँच विकेटको जित निकाल्दै भारत नवौँपटक एसीसी एसिया कप च्याम्पियन बनेको छ । आइतबार राति युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।
भारतको जितमा तिलक बर्माले अविजित ६९ रन बनाए । शिवम दुवेले ३३ र सञ्जु सामसनले २४ रन थपे । पाकिस्तानका फहिम असरफले तीन विकेट लिए । साहिन साह अफ्रिदी र अब्रार अहमेदले समान एक विकेट लिए । टस हारेर ब्याटिङमा आएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाएर १४६ रनको योगफल खडा गरेको हो ।
पाकिस्तानका ओपनर सहिबजादा फरहाने सर्वाधिक ५७ रन बनाए । उनले ३८ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर फखर जमानले ४६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ९.४ ओभरमा ८४ रनको साझेदारी गर्दै पाकिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
तर, यसपछि मध्यक्रम र तल्लोक्रमका ब्याटरले निराशाजनक प्रदर्शन गर्दा पाकिस्तान बलियो योगफलसम्म पुग्न सकेन । सैम अयुबले १४ रन थपे । यसबाहेक, पाकिस्तानका अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा रोक्न कुलदीप यादवले चार विकेट लिए । चार ओभर बलिङ गरेका कुलदीपले ३० रन खर्चिए । वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अक्षर पटेलले समान दुई विकेट लिए । यसै प्रतियोगितामा यी दुई टिमबीच दुई खेल भइसकेको छ । यी दुवै खेलमा भारतले पाकिस्तानलाई क्रमशः सात र ६ विकेटले पराजित गरेको थियो ।
ट्रफी लिन अस्वीकार
उपाधि जिते पनि भारतका खेलाडीले खेलपछि एसिया कपको ट्रफी उचाल्न अस्वीकार गरे । इएसपीएन क्रिकइन्फोले खुलाए अनुसार एसिया कपको ट्रफी एसियाली क्रिकेट काउन्सिलका अध्यक्ष मोहसिन नाक्भीले प्रदान गर्ने तालिका थियो । तर, नाक्भी पाकिस्तानी नागरिकसँगै पाकिस्तानका आन्तरिक मन्त्रीसमेत भएकाले भारतका खेलाडीले उनीबाट ट्रफी लिन अस्वीकार गरे ।
यही कारण खेलपछिको ‘ट्रफी प्रेजेन्टेसन’ पनि करिब डेढ घण्टा ढिलो भएको थियो । भारतका खेलाडीले नाक्भीबाट विजेताको ट्रफी लिन अस्वीकार गरे पनि पाकिस्तानका खेलाडीले भने उनीबाट नै उपविजेताको ट्रफी र चेक लिए ।
यता, व्यक्तिगत विधामा उत्कृष्ट घोषित भएका कुलदीप यादव, अभिषेक शर्मा र तिलक वर्माले भने आफ्नो ट्रफी लिए । तर, भारतका यी तीन खेलाडीले नाक्भीबाट नभई एसीसीका अन्य प्रतिनिधिबाट ट्रफी लिएका थिए ।
नाक्भीबाट ट्रफी लिन अस्वीकार गरेको भारतले ‘ट्रफी प्रोजेन्टेसन’ का निम्ति बनाइएको पोडियममा खुसीयाली बनाएको थियो । प्रतियोगिताकै सबैभन्दा सफल टोली भारतले जितेको यो नवौँ उपाधि हो । जसमा भारतले सातपटक एकदिवसीय र दुई पटक टी–२० संरचनामा उपाधि जितेको छ ।
यता, पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि हासिल गर्न सकेको छैन । यसअघि, एकदिवसीय संरचनामा भने पाकिस्तानले दुईपटक उपाधि जितेको थियो ।








प्रतिक्रिया