२ असार २०८३, मंगलबार

उपाधिका लागि दुबईमा भारत र पाकिस्तान भिड्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ असोज । एसिया कप क्रिकेटको फाइनल खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् । युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार भारत र पाकिस्तानले उपाधिका लागि आज साँझ प्रतिस्पर्धा गर्न लागेका हुन् ।

४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक भारत र पाकिस्तानले उपाधिको लागि भेट्दैछन् । यही संस्करणमा भारत र पाकिस्तानले लिग चरण र शीर्ष चारमा भेट गरिसकेका छन्। दुवै पटक भारतले पाकिस्तानलाई हराएको छ ।

तेस्रो पटक भारतविरुद्ध पाकिस्तानले जित निकाल्न सक्ला कि नसक्ला यो भने आजको खेलले देखाउनेछ । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो । सुपरफोरको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित ग¥यो ।

लिग चरण र सुपरफोरको खेल सकिइसक्दा भारत र पाकिस्तानको आइतबार राति हुने खेल उपाधिभन्दा राजनीतिक गतिविधिहरू मैदानमा देखिने सम्भावना छ । फाइनलसम्म आइपुग्दा धेरै कन्ट्रोभर्सीहरूको सामना गरेको यी दुई टिमले फाइनलमा कस्तो खालको खेल र कस्तो खालको व्यवहारहरू देखाउँछन् भन्ने चासोको विषय रहेको छ ।

पाकिस्तानको लागि यो उपाधि निकै खास हुन सक्छ । रेकर्डमा पाकिस्तान भारतसँग निकै पछि छ । हालसम्म १५ वटा टी २० अन्तर्राष्ट्रिय खेलमध्ये १२ वटा खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

प्रतियोगितामा अन्डर डग रहँदै पाकिस्तानले नाटकीय रुपमा फाइनलमा प्रवेश ग¥यो । ब्याटिङ र बलिङ दुवैमा पछिल्लो समय पाकिस्तान चल्न सकेन ।

त्यसको ठीक, विपरीत भारतका लागि ब्याटिङ निकै राम्रो भइरहेको छ । अभिषेक शर्माले खेल्ने इनिङ्स भारतको प्रतिद्वन्दीहरूको टाउको दुखाएको विषय बन्ने गर्छ । उनले यो प्रतियोगिता अवधिभर टिमलाई चाहिए जसरी ब्याटिङ गरेका छन् ।

युएईको पिचमा स्पिनरको जादु चल्छ । जहाँ कुलदिप यादवले त्यो प्रमाणित पनि गरेका छन् । उनलाई अक्षर पटेल र वरुण चक्रवर्तीको पनि राम्रो सहयोग मिलिरहेको छ । जसप्रीत बुमराह र शिवम दुबे फाइनलको खेलमा फर्किने नफर्किने भन्ने धेरैको चासोको विषय रहेको छ । शुक्रबार सुपरफोर अन्तर्गतको अन्तिम खेलमा यी दुई खेलाडीलाई आराम दिइएको थियो ।

सुपरफोरको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।