३० असार २०८३, मंगलबार

हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौँ : अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार तोडफोड र आगजनीबाट बनेको टिप्पणी गरेका छन् । बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारको तीव्र आलोचना गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘जेनजी सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको सरकार हो । यो सरकारलाई म भन्न चाहन्छु, मेरा अभिव्यक्तिहरु, बोलेका कुराहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती बाहिर ल्याओस् । प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती पनि बाहिर ल्याओस् । सबै क्षेत्रमा गरिएका कामहरू रेकर्डेड छन्, सबै बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, त्यो पनि ल्याओस् ।’

अध्यक्ष ओलीले आफूहरूले कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पार्दै छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढंगले अगाडि बढ्ने बताए । उनले भने, ‘हामी कुनै छलछाम गर्दैनौँ । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अगाडि बढ्छौँ । जनतालाई सेवा–सुविधा दिन, शान्ति–सुरक्षा कायम गर्न र कानुनी राज्यको स्थापना गर्न हाम्रो नीति स्पष्ट छ ।’

भ्रष्टाचारको आरोपप्रति पनि ओलीले तीव्र प्रतिक्रिया जनाए । ‘भ्रष्टाचार गर्‍यो भनेर हल्ला गरेर हुँदैन । कहाँ, केमा गर्‍यो, केमा घुस खायो ? यस्ता कुरा अफवाह मात्र हुन् ।’ अध्यक्ष ओलीले भने । साथै, उनले अहिलेको सरकारले केही नेताहरूको पासपोर्ट रोक्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले त्यसप्रति पनि आपत्ति जनाए ।

अध्यक्ष ओलीले प्रश्न गरे, ‘अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ । के ठानेको छ त्यो सरकारले ? यो हाहु गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ? के सोचेकै हो ?’ ओलीले देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूले नै लिएको दोहोर्‍याउँदै संवैधानिक, लोकतान्त्रिक, मूलधारमा देशलाई ल्याउने बताए ।

अध्यक्ष ओलीले भने, ‘फेरिपनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक, मूलधारमा ल्याउँछौँ । देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ ।’

अध्यक्ष ओलीले देश असुरक्षित बनाउने र आतंक फैलाएर सत्तामा पुग्नेहरू किन नै सुरक्षा दिने नसकेको भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले भने, ‘सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने यो त सरासर अन्याय हो ।’