
हेटौंडा, ११ असोज । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । शनिबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी र मकवानपुर सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालसहित दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरसहित महासंघका पदाधिकारी, अस्पताल व्यवस्थापन टिम र स्थानीय पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार महासंघका सदस्य पत्रकारहरूले मकवानपुर सहकारी अस्पतालमा बहिरंग (ओपीडी) सेवा, स्वास्थ्य परीक्षण र औषधि खरिदमा विशेष सुविधा पाउनेछन् । अस्पतालले बहिरंग सेवामा निःशुल्क उपचारको व्यवस्था र औषधिमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । पत्रकारहरूले आफ्नो परिचयपत्र देखाएर यी सुविधा प्राप्त गर्न सक्नेछन् ।
महासंघका सचिव केशव समर्पण सुवेदीले लामो समयदेखि पत्रकारहरू स्वास्थ्य समस्यामा परिरहेको भन्दै यो सम्झौताले राहत दिने विश्वास व्यक्त गरे ।
त्यस्तै, महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको उल्लेख गर्दै पत्रकारहरूलाई नियमित स्वास्थ्य परीक्षण र उपचारका लागि यो सम्झौताले प्रोत्साहन दिने बताए ।
कार्यक्रममा मकवानपुर सहकारी अध्यक्ष नरोत्तम दाहालले पत्रकारहरू समाजको महत्त्वपूर्ण हिस्सा भएको र उनीहरूको स्वास्थ्यमा योगदान पुर्याउन पाउँदा खुसी लागेको बताए । साथै, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सधैं तयार रहने प्रतिबद्धता पनि जनाए ।
चाडपर्वको अवसर पारेर सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो । सहभागीहरूले एक–अर्कालाई शुभकामना साटासाट गर्दै खुसी व्यक्त गरेका थिए ।
यो सम्झौताले मकवानपुरका पत्रकारहरूको स्वास्थ्य सुरक्षा र पेसागत जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया