
काठमाडौं, ११ असोज । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबार संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै यस वर्षको सुरुमा भारतसँग भएको सैन्य द्वन्द्वका क्रममा पाकिस्तानी लडाकु जेटहरूले भारतका सातवटा जेटलाई खसालेर काम नलाग्ने बनाइदिएको दाबी गरेका छन् ।
शरीफले आफ्नो देशको वायुसेनाको प्रशंसा गर्दै आफ्ना पाइलटहरूलाई ‘बाज’भनेर सम्बोधन गरे । उनले भने, “ती पाइलटहरूले उडान भरेर भारतीय विमानहरू नष्ट गरेका थिए ।’
पाकिस्तानले प्रायः पाँचवटा भारतीय वायुसेनाका जेट खसालेको दाबी गर्ने गरेको छ, तर भारतले यी दाबीहरूलाई आधारहीन भन्दै बारम्बार अस्वीकार गर्दै आएको छ ।
शेहबाज शरीफले भने, “यो वर्ष मे महिनामा मेरो देशले पूर्वी मोर्चाबाट बिनाकारण आक्रमणको सामना ग¥यो । हाम्रो जवाफ आत्मरक्षासँग मेल खाने खालको थियो । हामीले उनीहरूलाई अपमानित गरेर फर्कायौँ ।”
सम्बोधनका क्रममा शरीफले पहलगाम आक्रमणपछि भारतले राजनीतिक लाभ लिन खोजेको आरोप लगाए ।
६ वर्षपछि ह्वाइट हाउस भ्रमण गर्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका शरीफले ट्रम्पलाई विश्वभरका द्वन्द्व अन्त्य गर्नका लागि गरेको इमानदार प्रयासका लागि ‘शान्तिका मानिस’ भनी प्रशंसा गरे । प्रधानमन्त्री शेहबाज शरीफले शुक्रबारको महासभा सम्बोधनमा मे महिनाको सैन्य कारबाहीपछि भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकी राष्ट्रपतिले सक्रिय भूमिका खेलेको दाबी पनि दोहो¥याए ।
यसअघि, शरीफले पाकिस्तानका सेना प्रमुख असिम मुनिरसँगै ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका थिए, जहाँ उनीहरूले क्षेत्रीय सुरक्षा, आतंकवाद नियन्त्रणमा सहयोग र अन्य मुद्दाहरूबारे छलफल गरेका थिए ।
२५ मिनेट लामो आफ्ना भाषणमा शरीफले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न जोड दिँदै उनलाई ‘शान्तिका मानिस’” भएको दाबी गरे ।
आफ्नो सम्बोधनमा शेहबाजले भारतसँगको भिडन्तका क्रममा पाकिस्तानलाई कूटनीतिक सहयोग पु¥याएकोमा चीन, टर्की, साउदी अरेबिया, कतार, अजरबैजान, इरान, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्र संघका महासचिवलगायतलाई धन्यवाद दिए ।
भारतद्वारा शेहबाज शरीफको कडा आलोचना
भारतले पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफको महासभा सम्बोधनको आलोचना गर्दै उनले तथ्यहरूलाई तोडमोड गरेको र आतंकवादको महिमामण्डन गरेको आरोप लगाएको छ । साथै, कुनै पनि हदको नाटकले वास्तविकता लुकाउन नसक्नेमा भारतले जोड दिएको छ ।
शेहबाज शरीफको सम्बोधनपछि संयुक्त राष्ट्र संघ महासभामा भारतको स्थायी नियोगकी प्रथम सचिव पेटल गहलोतले जवाफ दिने अधिकार प्रयोग गर्दै कडा प्रतिवाद गरिन् ।
जवाफ दिने अधिकार प्रयोग गर्दै भारतीय कूटनीतिज्ञ पेटल गहलोतले भनिन्, “यो सभाले बिहान पाकिस्तानका प्रधानमन्त्रीबाट असंगत नाटक देख्यो, जसले फेरि एकपटक आतंकवादको महिमामण्डन गरे, जुन उनीहरूको विदेश नीतिको केन्द्रबिन्दु हो ।”
उनले थपिन्, “कुनै पनि स्तरको नाटक र कुनै पनि स्तरको झुटले तथ्यहरू लुकाउन सक्दैन । यो त्यही पाकिस्तान हो जसले सन् २०२५ अप्रिल २५ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पाकिस्तान–प्रायोजित आतंकवादी संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’लाई भारतको केन्द्रशासित प्रदेश जम्मु र कश्मीरमा पर्यटकहरूको बर्बर नरसंहारको जिम्मेवारीबाट बचाएको थियो ।








प्रतिक्रिया