२० असार २०८३, शनिबार

२५ दिनमै सकियो फिल्म ‘आ बाट आमा’को छायांकन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ । फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि अनुबन्ध गरेका छन् ।

निर्देशक पन्तले फिल्मको नाम र अन्य कलाकारको बारेमा केही दिनपछि जानकारी दिने बताए । अहिलेलाई अभिनेताका रुपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने उनको भनाई छ ।

निर्देशक पन्तले फिल्म ‘आ बाट आमा’को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए । एक महिनाको सेड्युलमा छायांकन थालेता पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतका कारण ५ दिन अगावै फिल्मको सुटिङ सकिएको निर्देशक पन्तले जानकारी दिएका छन् ।

चितवन, काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित विष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन् । आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने छ ।

फिल्मको छायांकन सकिएपछि अभिनेता पलले आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए । उनी भन्छन्, ‘म आशावादी छु, तपाईं भगवान रूपी दर्शकहरूले ‘आ बाट आमा’लाई पनि सधैं झैँ माया र समर्थन गर्नु हुनेछ र भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ ।’

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन् । फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतम रहेका छन् ।

यो फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । निर्माण पक्षका अनुसार अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्री भएको हो । हिमारु इन्टरटेन्मेन्ट प्रालिले दुवै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ ।

नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।