
बाजुरा, ११ असोज । अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड करिब ४ महिनापछि सञ्चालनमा आएको छ । असारदेखि अवरुद्ध बनेको सडक असोजको पहिलो साता सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारीको समन्वय, सहकार्य तथा पहलमा दशैं, तिहारलाई मध्येनजर गरि सडक खुलाउने काम भएको हो । पानी रोकिएसँगै नागरिकहरुको समस्या र चाडपर्वलाई मध्येनजर गरी सडक खोलिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराको भनाइ छ । अवरुद्ध बनेको सडकखण्ड खुल्न नसक्दा यात्रुहरूले निकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको थियो ।
काम तथा पढाईका लागि बहिर गएकाहरू दशैं, तिहार मनाउन घर आउने नागरिकहरूलाई मार्तडीदेखि कोल्टीसम्म पुग्न पनि ५ वटा गाडी बदल्नु पर्ने अवस्थामा रहेकोमा दशै तिहारको मुखमै सडक खोलिएको हो । साथै, सडक अवरुद्ध हुँदा स्याउ कृषकलाई पनि स्याउ ढुवानीमा समस्या हुँदै आएको थियो । अब सडक सुचारू भएसँगै स्याउ ढुवानीमा पनि सहज हुने भएको छ । मार्तडी–कोल्टी सडकखण्डबाट माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तह, हिमाली, स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट गरी करिब १७ बढी जिल्लाका नागरिक आउजाउ गर्ने गर्छन् ।
ठेकेदारको चरम लापरबाहीका कारण मार्तडी–कोल्टी सडकखण्ड समयमै कालोपत्रे हुन नसक्दा वर्षेनी अवरुद्ध हुने गरेको छ । जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ ।
मार्तडीदेखि खार चुथीसम्म ९ किलोमिटर त्यस्तै खारदेखि ढम्कनेसम्म ६ किलोमिटर सडकखण्डमा अलि काम भए तापनि अन्य ठाउँमा सडकखण्डको कार्य अस्तव्यस्त छ ।








प्रतिक्रिया