
काठमाडौं, १० असोज । भारतमा अधिकार तथा पर्यावरण अभियन्ता सोनम वाङ्चुक पक्राउ परेका छन् । लद्दाखमा राज्यको दर्जा र छैटौँ अनुसूचीअन्तर्गतको संवैधानिक सुरक्षाको माग गर्दै गरिएको प्रदर्शन झडपमा परिणत भएको दुई दिनपछि शुक्रबार प्रहरीले वाङ्चुकलाई पक्राउ गरेको हो ।
लद्दाखका प्रहरी महानिर्देशक एसडी सिंह जामवालको नेतृत्वमा रहेको टोलीले वाङ्चुकलाई शुक्रबार दिउँसो २ः३० बजे नियन्त्रणमा लिएको टाइम्स अफ इन्डियाले जनाएको छ । वाङ्चुकमाथि लगाइएका आरोपबारे स्पष्ट गरिएको छैन ।
यसअघि, बिहीबार भारतको केन्द्रीय गृह मन्त्रालयले वाङ्चुकको गैरसरकारी संस्थाको लाइसेन्स विदेशी योगदान (नियमन) ऐन, २०१० अन्तर्गत खारेज गरेको थियो । गृह मन्त्रालयले बुधबार लद्दाखमा भएको भिड हिंसा र आगजनीका लागि वाङ्चुकले ’अरब स्प्रिङ शैली’को विरोध प्रदर्शन र नेपालको ’जेनजी आन्दोलन’को सन्दर्भ जोडेर दिएका उत्तेजक भाषणलाई जिम्मेवार ठहराएको छ ।
यद्यपि, वाङ्चुकले सरकारले आफूलाई जेल हाल्ने आधार तयार गरिरहेको आरोप लगाएका छन् ।
वाङ्चुकले स्थापना गरेको हिमालयन इन्स्टिच्युट अफ अल्टर्नेटिभ्स लद्दाखले दर्ताबिनै १.५ करोड रुपैयाँभन्दा बढी विदेशी रकम प्राप्त गरेको आरोप लगाइएको छ । वाङ्चुकको निजी फर्म सेस्योन इनोभेसनमा ६.५ करोड रुपैयाँ कथितरूपमा दुरुपयोग भएको बताइएको छ ।
स्रोतका अनुसार, वाङ्चुकले आफ्नो व्यक्तिगत खाताबाट २०२१ देखि २०२४ सम्म २.३ करोड रुपैयाँ विदेश पठाएका थिए । २०१८ देखि २०२४ सम्म १.६८ करोड रुपैयाँ विदेशी कोष विभिन्न खाताहरूमा प्राप्त गरेका थिए । उनका नौवटा व्यक्तिगत बैंक खातामध्ये आठवटा घोषणा नगरिएको पनि खुलासा भएको छ ।
बुधबार लद्दाखमा भएको प्रदर्शनका कारण चार जनाको मृत्यु भएको थियो र प्रहरी कर्मचारीसहित ८० भन्दा बढी घाइते भएका थिए । लेहमा भाजपाको कार्यालय, सरकारी भवन तथा गाडीहरूमा आगो लगाइएको थियो । भिडलाई नियन्त्रणमा लिन सुरक्षा बलहरूले आँसु ग्यास र प्रत्यक्ष गोलीसमेत प्रयोग गरेका थिए ।








प्रतिक्रिया