काठमाडौं, १० असोज । सिटिजन्स बैंक इन्टरनेसनलले लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताको खातामा जम्मा हुनेछ।
२०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले निरन्तर रूपमा लगानीकर्तालाई लाभांश वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०६५/६६ देखि हालसम्मको औसत लाभांश दर ११.८७ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्ला १० वर्षको औसत दर १०.५२ प्रतिशत पुगेको बैंकले जनाएको छ।
बैंकले हालै ‘बैंक अफ द इयर २०२४’ उपाधि प्राप्त गरेको छ। यससँगै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ र ‘भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। साथै, फ्रीलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सार्वजनिक गरेको छ।
सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।








प्रतिक्रिया