
काठमाडौं, १० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजलाई विश्व क्रिकेटसामु आफ्नो क्षमता प्रदर्शन गर्ने ‘उत्कृष्ट अवसर’ को रूपमा लिएको बताएका छन् ।
उनले नतिजा जेसुकै भए पनि यो सिरिजले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुन र भविष्यका लागि महत्त्वपूर्ण अनुभव बटुल्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । शारजाहमा हाम्रो खेलकुदसँगको कुराकानीमा बोल्दै प्रशिक्षक लले भने, ‘वेस्ट इन्डिजको प्रतिनिधित्व जसले गरे पनि उनीहरू दुई पटकको टी–२० विश्वविजेता हुन् । यस्तो टोलीविरुद्ध आफ्नो कौशल विश्वसामु प्रस्तुत गर्ने यो हाम्रो लागि उत्कृष्ट अवसर हो ।’
उनले यो सिरिज खेलाडीहरूका लागि आफूलाई प्रमाणित गर्ने ‘शप विन्डो’ जस्तै भएको बताए । ‘अहिले विश्वभर धेरै टी–२० फ्रेन्चाइज लिगहरू छन् र धेरै मानिसहरूले हाम्रा खेलाडीहरूले कस्तो प्रदर्शन गर्छन् भनेर हेरिरहेका हुनेछन् । त्यसैले यो एक ठूलो अवसर हो’, उनले थपे ।
प्रशिक्षक लले हालको नेपाली टोली निकै सन्तुलित रहेको र अन्तिम ११ खेलाडी छनोट गर्न आफूलाई ‘राम्रो टाउको दुखाइ’ भएको स्वीकार गरे । उनले भने, ‘कसलाई खेलाउने भन्ने थाहा नभएर टाउको दुखाउनुभन्दा यस्तो दुविधा हुनु राम्रो हो। हाम्रो टोलीमा उच्च प्रतिभा र सीप छ, र हामीले बनाएको खेल योजनामा अडिग रह्यौँ भने राम्रो प्रदर्शन गर्नेछौँ ।’
उनले राष्ट्रिय टिममा कमब्याक गरेका सन्दीप जोरा र आदिल अन्सारीजस्ता खेलाडीको उपस्थितिले टोलीलाई थप बलियो बनाएको तर उनीहरू सीधै टोलीमा पर्छन् वा पर्दैनन् भन्ने कुरा खेलको आवश्यकताअनुसार निर्धारण हुने बताए ।
वेस्ट इन्डिजका पूर्व प्रशिक्षकसमेत रहेका लले यूएईमा रहेका नेपाली क्रिकेट समर्थकहरूको उत्साहबारे आफू जानकार रहेको बताए । ‘मलाई थाहा छ, जति संख्यामा दर्शक आउँछन्, उनीहरूको आवाज त्योभन्दा दश गुणा ठूलो सुनिन्छ । हामीलाई आशा छ, नेपाली दर्शकहरू हामीलाई समर्थन गर्न आउनुहुनेछ’, उनले भने ।
नेपालले शनिबार, सोमबार र मंगलबार युएईको सारजाह क्रिकेट मैदानमा वेस्टइन्डिजविरुद्ध तीन खेलको टी२० सिरिज खेल्दैछ । नेपाली टोलीले शारजाहको गर्मी र ओसिलो मौसममा आफूलाई अभ्यस्त बनाउँदै प्रशिक्षण गरिरहेको छ । यो सिरिजलाई अक्टोबरमा हुने आईसीसी विश्वकप एसिया छनोटकोको तयारीका रूपमा पनि हेरिएको छ ।








प्रतिक्रिया