
भक्तपुर, ९ असोज । दशैंको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैं विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ ।
नेवार समुदायले राँगाको मासु अत्याधिक प्रयोग गर्ने भएकाले पनि दशैंको लागि भनेर विभिन्न जिल्लाबाट राँगा भक्तपुर भित्र्याएका हुन् । दशैंलाई लक्षित गर्दै भक्तपुरको महेश्वरी चौरमा दशैंको लागि भनेर सस्तो व्यापार मेला पनि लाग्ने गरेको छ ।

राँगा व्यापारी दीपक बुढाथोकीले रामेछाप मन्थलीबाट दशैंको लागि भनेर ३५ वटा राँगा ल्याएको बताए । उनले ४० लाख लगानीमा ल्याएका राँगाहरु एउटाको ९० हजारदेखि एक लाख रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेको भन्दै लगानी उठेर नाफा समेत हुने अपेक्षा गरेको बताए ।

उनले भने, ‘रामेछाप मन्थलीबाट दोस्रो भक्तपुर दशैं सस्तो व्यापार मेला २०८२ मा दशैंको बेला राँगा बेच्न आएको हुँ । ३५ वटा जति राँगा ल्याएको छु । हरेक दशैंमा राँगाहरु लिएर आउँछु । एउटा राँगाको ९० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुन्छ । यहाँ व्यापार सुरु भइसकेको छ । ४० लाख लगानीमा राँगाहरु ल्याएको हुँ लगानी सबै उठाउने अपेक्षा छ । अघिल्लो वर्षहरुमा पनि नाफामा नै व्यापार गरेको हो ।’
उनका अनुसार यसपाली झन् बढी व्यापार बढ्ने आशा गरिएको छ । साथै, सस्तो व्यापार मेलामा ५० भन्दा बढी स्टल रहनेछ । मेलामा लुगा, जुत्ता, खाद्यान्न, अटोमोबाइल, हस्तकला सामग्री, कृषि उपकरण लगायत दैनिक उपभोग्य वस्तुहरूमा विशेष छुटको व्यवस्था गरिनेछ । मेलामा बालउद्यान, रोटेपिङ, ड्रागन राइड, मिकी माउस जस्ता रमाइला खेलकुदका साथै राष्ट्रिय तथा स्थानीयस्तरमा ख्याती प्राप्त कलाकारहरूका हास्यव्यङ्ग्य र सांगीतिक प्रस्तुति हरेक दिन रहनेछन् ।
मेलामा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७० रुपैयाँको प्रवेश शुल्क तोकिएको छ । जेष्ठ नागरिकहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।









प्रतिक्रिया