४ श्रावण २०८३, सोमबार

नेपाल र मस्को क्षेत्रीय चेस महासंघबीच छ बुँदे सम्झौतामा हस्ताक्षर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर पश्चात सम्झौता पत्र अदलाबदलि गरेका छन् ।

सम्झौता अनुसार दुवै महासंघले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन् । सम्झौतामा दुवै पक्षबीच चेस लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुई देशीय आपसी भ्रमण गरिने व्यवस्था गरिएको छ ।

यसैगरी, नेपाल र रसियामा खेलाडीहरूको तालिम सञ्चालन गरिने तथा अनलाइनमार्फत समेत प्रशिक्षण हुने उल्लेख छ ।

त्यस्तै, नयाँ खेलाडी तयार गर्न प्रशिक्षकहरूको सीप अभिवृद्धि, अतिरिक्त शिक्षा र तालिमको व्यवस्था समेत गरिनेछ । नेपाल र रुसमा दुई राष्ट्रका खेलाडीबीच द्विपक्षीय प्रतियोगिता आयोजना गर्ने तथा समयानुकूल अनलाइनमार्फत पनि यस्ता प्रतियोगिता सञ्चालन गरिनेछ । साथै, चेससम्बन्धी विषयगत गोष्ठी, सम्मेलन र विभिन्न कार्यक्रमहरूको समेत आयोजना गर्ने सहमति भएको छ ।

सम्झौता अनुरुप खेलाडी एवं खेल प्रतिनिधिहरूको सहभागिता र कार्यक्रमका वित्तीय शर्तहरू दुवै पक्षबीच अग्रिम सहमति गरेर तय गरिनेछ । सम्झौतापत्रमा उल्लेख भए अनुसार यस सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिका रुपमा मानिने छैन र यसले अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै कानुनी दायित्व सिर्जना गर्दैन । नितान्त द्विदेशीय चेस खेल प्रवद्र्धनका विषयमा केन्द्रित रहनेछ ।

सम्झौता हस्ताक्षर भएदेखि लागू हुनेछ भने कुनै पनि पक्षले सम्झौता अन्त्य गर्न चाहेको खण्डमा ६ महिना अघि नै अर्को पक्षलाई लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ ।

रुस गणराज्य काल्मिकियाका राष्ट्रपति एवं काल्मिक क्षेत्रीय चेस फेडरेसनका अध्यक्ष समेत रहेका किर्सान निकोस्लाभिच इल्युमजिनोभको अग्रसरतामा ६ बुँदे सम्झौता भएको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिएका छन् । महर्जनका अनुसार बुद्ध धर्मका अनुयायी किर्सानले नेपाल भ्रमणका क्रममा परिकल्पना गरेको बौद्ध राष्ट्र बिचको चेस खेल काल्मिकियामा सम्पन्न गरेको छ ।

उनले विश्वशान्ति दुत गौतम बुद्धको नाममा दोस्रो प्रतियोगिता पुनः रुसमा हुने र तेस्रो संस्करण नेपालमा आयोजना गर्ने समझदारी बनेको जानकारी गराएका छन् ।

किर्सानको प्रतिनिधिका रुपमा हस्ताक्षर गरेका सर्गेइ कार्जाकिन जम्मा १२ वर्ष ७ महिनाको उमेरमा विश्वको सबैभन्दा कान्छो चेस ग्रायण्ड मास्टरका रुपमा रेकर्ड राख्न सफल खेलाडी हुन् ।

रुस क्रिमिया संघका पार्षद सिनेटर सर्जेइ कार्जाकिनले नेपाली युवा खेलाडीको खेल स्तर सोचेभन्दा उच्च रहेको हुँदा थप प्रशिक्षणको अवसर प्रदान गर्न यस सम्झौताले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्झौता भए पश्चात महासंघका प्रवक्ता राजु ताम्राकारले विगतमा पनि पहिलो जेनेरेसनका खेलाडीहरुलाई रसियन जिएम अलेक्जेन्डर फोमिनि, बंगलादेशका जिएम निहाज मुर्सेद, भारतका गोविन्द बल्लब (जिबि) जोशीवाट प्रशिक्षण प्रदान गरिएको बताए ।

हालै नेपाली चेस ओलम्पियाड टिमलाई काजकिस्तानी जिएम मुर्ताज काजगल्यएभ तथा आइएम बख्तियार अस्कारोभले नेपालमै चेस प्रशिक्षणको प्रबन्धक गरेको ताम्राकारले जानकारी गराएका छन् ।

विश्व बुद्धिचाल महासंघ (फिडे)का निवर्तमान अध्यक्ष किर्सानको सहयोगमा सन् २०१५ देखि २०२१ सम्म ६ वर्ष नेपाली चेस खेलाडीहरुलाई अध्ययन गर्न छात्रवृत्ति प्राप्त गरेको थियो ।

तत्कालीन बुद्धिचाल संघको पहलमा रसिया पिपुल्स फ्रेन्डशिप युनिभर्सिटीको छात्रवृत्ति अवसर सदुपयोग गर्नेमा वर्तमान उच्च २२५३ रेटेड एफएम विवेक थिङ, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र सौरभ प्रधान हुन् ।

प्रवक्ता ताम्राकारका अनुसार रसियामा भएको दुई देशीय सम्झौताले पुनः छात्रवृत्ति प्राप्त हुने भएको छ । साथै, महासंघले नेपाली खेलाडीहरुको खेल स्तर वृद्धि गर्न विभिन्न कोणबाट पहल जारी राखेको उनले बताएका छन् ।