११ असार २०८३, बिहिबार

भलिबलबाट प्रशिक्षक भट्टको विश्राम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपाली भलिबलका सर्वाधिक सफल प्रशिक्षक जगदीश भट्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्बन्धित बाहेक भलिबलको सबै भूमिकाबाट अलग हुने निर्णय लिएका छन् ।

‘आगामी दिनमा राखेपको कार्यक्रमबाहेक त्यो पनि जागिरमै रहेसम्म मात्र संलग्न रहनेछु । अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु । यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागिता)मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु, ‘ सामाजिक सन्जालमा भट्टले लेखेका छन् ।

भट्टले राष्ट्रिय महिला टोलीलाई दुई पटक सेन्ट्रल जोन जिताएका थिए । त्यस्तै उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । सागमा महिला भलिबलको अहिले सम्मको ठूलो सफलता हो । ‌ त्यसअघि नेपाल ३ पटक कास्य पदक जितेको थियो ।

दुई दशक भन्दा लामो‌ समयदेखि प्रशिक्षणमा संलग्न भट्ट राखेपमा तामिल तथा प्रशिक्षण विभागका उपनिर्देशक तथा भलिबलका मुख्य प्रशिक्षक हुन् । कन्चनपुरका भट्ट नेपाल भलिबल संघका मुख्य प्रशिक्षक हुन् । उनले राष्ट्रिय पुरुष टोली र युवा टोलीलाई प्रशिक्षण दिइसकेका छन् ।

उनले लेखेका छन्, ‘ विगत तीन दशकको यात्रापछि—
मैले जे–जे गरेँ, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरेँ। नेपाली भलिबललाई राष्ट्रिय खेलको रूपमा स्थापित गर्न र परिणाममुखी बनाउनका लागि आफ्ना व्यक्तिगत इच्छा–चाहनालाई त्यागेर यहा सम्म ल्याइपुर्याउन जे जे गरे सबै माझ छर्लङ्ग छ ।

अझ राम्रो गर्न खोज्दा आइपर्ने हरेक समस्याको समाधान गर्दै आज यहाँसम्म आइपुगेको छु । यस यात्रामा साथ, सहयोग वा आलोचना गर्नु हुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु । पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ। तर अब त्यो अवस्था रहेन । ‘

भलिबल परिवारबाट पाएको असहयोग र पटक पटक खेप्नु परेको आलोचनाको पीडाले आफ्नो स्वास्थ्य अवस्था समेत बिग्रिएको भट्टले बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब बिश्राम लिने निर्णय लिएको छु । असन्तुष्ट प्राणि हरुको इच्छा पुरा गर्ने कोशिस गर्नु होला मैले सकिन है । पारिवारिक दबाबले यो निर्णय लिएको हो । तर भलिबल खेल मेरो आत्मा हो—यो सदैव मेरो जीवनसँग रहनेछ। जहाँ म खुशीसाथ आफ्ना अनुभव बाँड्न सक्छु, त्यहीँ म पुग्नेछु ।’