२४ जेष्ठ २०८३, आइतबार

सुरक्षा निकायसँग ‘तपाईंहरु किन हार्नुभयो ?’ भनेर सरकारले प्रश्न गर्नुपर्छ : पूर्वप्रहरी संगठन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । पूर्वप्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्वसुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वप्रहरी संगठनले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायहरुले हारेको टिप्पणी गर्दै सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि माग गरेका हुन् ।

पूर्वप्रहरी संगठनका अध्यक्ष वसन्त कुँवरले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सरकारले ‘तपाईंहरु किन हार्नुभयो ?’ भनेर प्रश्न गर्नुपर्ने बताए ।

शासन सत्ता उल्टिने, सम्पूर्ण सरकारी भवनहरु जल्ने अवस्था सिर्जना हुनुमा प्रहरी संगठनलाई कमजोर पार्नु मुख्य कारण रहेको उनले बताए ।

उनले भने, ‘सुरक्षा फौज हार्छ भने सुरक्षा फौजलाई पालेको किन ? सेनाको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? सशस्त्रको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? हामीलाई कुन प्रधानमन्त्री मन पर्यो, कुन मन परेन, कुन दलको छ ? त्यो हामी एकछिन बिर्सिऊँ । अबको नेपालको समस्या के आयो भने कुनै पनि सरकार नटिक्ने भयो । त्यसकारण हाम्रो भनाइ के हो भने, सरकारले सोधोस् कि– तपाईँहरु किन हार्नुभयो ?’

यस्तै, पूर्व एसएसपी प्रदीप कुमार श्रेष्ठले नेपाल पूर्वप्रहरी संगठनले जेनजी आन्दोलन र वर्तमान सरकारप्रति समर्थन जनाएको बताए ।

‘नेपाल पूर्वप्रहरी संगठन सुशासनको लागि जेनजी पुस्ताद्वारा अगाडि सारिएको पवित्र उद्देश्यको हामी समर्थन गर्छौं । अहिले देशमा जेनजी पुस्ताले जुन किसिमको आन्दोलन गर्‍यो, जसरी अहिले परिवर्तन आएको छ, सरकार गठन भएको छ । यो आन्दोलनलाई नेपाल पूर्वप्रहरी संगठनले पूर्ण रुपमा समर्थन गर्दछ,’ उनले भने ।

जेनजी आन्दोलनको क्रममा भएको सरकारी, निजी र व्यवसायिक सम्पत्तिमाथिको तोडफोड र आगजनीको समेत पूर्वप्रहरी संगठनले भत्र्सना गरेको छ । अपराधजन्य कार्य गर्ने, लुटपाट गर्ने व्यक्तिहरुलाई कानूनबमोजिमको कारबाही गर्न पूर्वप्रहरी संगठनले सरकारसँग माग गरेको छ ।