१८ असार २०८३, बिहिबार

यूएईमा रहेका नेपालीलाई अनुशासन पालना गर्न दूतावासको आग्रह

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ असोज । अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीलाई नियम, कानुन र अनुशासनको कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

दूतावासले विगत केही समयदेखि मादक पदार्थ सेवन, झगडा, बैंकिङ कसुर, नगद लेनदेन, लागूऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर अपराध, अध्यागमन तथा ट्राफिक नियम उल्लंघनजस्ता गतिविधिमा संलग्न भएकै कारण धेरै नेपाली समस्यामा परेको जानकारी दिएको छ ।

राजदूतावासले यस्ता गतिविधि यूएईको कानुनअनुसार दण्डनीय हुने हुँदा सम्पूर्ण नेपाली समुदायलाई सचेत रहन र विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

साथै, दूतावासले नेपालीलाई स्थानीय ऐन, कानून र मूल्य मान्यताको पूर्ण पालना गर्न, मादक पदार्थ सेवनपश्चात झगडा नगर्न, ट्राफिक नियम मान्न, व्यक्तिगत कागजात (पासपोर्ट, इमिरेट्स आईडी, सिम कार्ड) अरुलाई नदिन, नगद कारोबारमा नफस्न, सामाजिक सञ्जालमा असभ्य वा घृणात्मक सामग्री पोस्ट नगर्न, चाडपर्व वा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा सम्बन्धित निकायको स्वीकृति लिन र आपसी ऐक्यबद्धता कायम गर्न सुझाव दिएको छ ।

दूतावासले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो पेशा–व्यवसायमा इमानदार र अनुशासित भई बसोबास गरिरहेको मुलुकको नियम पालना गर्न आग्रह गरेको छ ।