१ असार २०८३, सोमबार

जेनजी प्रदर्शन : २२ अर्ब २५ करोड बराबरको बीमा दाबी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असोज । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर बीमा दाबी पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ ।

बागमती प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड लगायत घटना भएका थिए । प्राधिकरणले निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडका सम्बन्धमा बीमा दाबी भएको स्पष्ट पारेको छ ।

ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । प्राधिकरणले उपलब्ध गराएको विवरण अनुसार ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबीको आवेदन परेको छ ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब आठ करोड २८ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ ।

सम्पत्ति बीमाको पाँच सय ३८, मोटर बीमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बीमा ११ र अन्यमा १९ वटा आवेदन प्राप्त भएका छन् । प्रदेशगत आधारमा कोशी तीन सय २२, मधेश दुई सय ४६, बागमती एक हजार ३४३, गण्डकी एक सय ८४, लुम्बिनी दुई सय दुई, कर्णाली २२ र सुदूरपश्चिम प्रदेश एक सय ५९ वटा बीमा दाबी परेका प्राधिकरणले जनाएको छ ।