
काठमाडौं, ५ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थानतर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आशले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका हुन् ।
असोज ३ गते काठमाडौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् । उनी रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते बिहान साढे ९ बजे मुग्लिन पुगेका छन् । कतिपय ठाउँमा सडक एकतर्फी जानसक्ने स्थानमा पनि ट्राफिक प्रहरीहरुले सवारी रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झन प्रताडित हुनु परेको चन्दले बताए ।
उनले भने, ‘पानी खान पाइएको छैन्, खाना खान पाइएको छैन् अलिकति भएपनि अगाडि जान पाए हुन्थ्यो बजारको आसपास पुग्नु पाए हुन्थ्यो भन्ने यात्रुहरुलाई छ ।’ तर, ट्राफिक प्रहरीहरुको व्यवहार रुखो हुँदा वादविवाद भएको उनले बताए ।
‘बल्ल मुग्लिन आइपुगियो । अब त कमसेकम पानी त खान पाइन्छ नि’ चन्दले भने । उनका अनुसार बाटोमा हजारौँ यात्रुहरु अलपत्र छन् । ‘कतिपय बिरामी, बुढापाका, महिला बालबालिकाहरुछन् सबैको बेहाल छ । सडकमा कतै सरकार छ भन्ने अनुभूति गर्न पाइएन ।’ उनले भने ।
पहिरो पन्छाउन नसक्दा असोज ३ गते साढे ६ बजेदखि हालसम्म यातायात आवागमन बन्द भएको छ । जसका कारण हजारौँ यात्रु तथा यातायात मजदुरहरु समस्यामा परेका छन् । लामो समय सडक जाम हुँदा खाद्यान्नको समस्या परेको छ । यसैक्रममा मुग्लिङका स्थानीयले पहल गरेर असोज ४ गते समस्यामा परेका यात्रु तथा मजदुरहरुलाई खानाको व्यवस्था गरिएको थियो । अझै पनि पहिरो खसिरहेकाले पन्छाउने कार्य जटिल भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यता, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले सबै शक्ति प्रयोग गरेरै भएपनि पहिरो पन्छाउनु पर्ने माग गरेका छन् ।
करिब ३५ हजार सवारी साधनमा काम गर्ने करिब ८० हजार यातायात मजदुरहरु भरतपुरदेखि नागढुङ्गा सडक खण्डमा फसेको र करिब ५ लाख यात्रुहरु प्रभावित भएको बताउँदै राईले सडक डिभिजन कार्यालय भरतपुरको ५ वटा लोडर र एक्जाभेटरबाट मात्रै पहिरो पन्छाउने कार्य तत्काल सम्भव नहुने बताए ।








प्रतिक्रिया