
काठमाडौं, ३ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसाको पर्खाइमा छ । विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली आज युएई जाने तयारी थियो ।
आज बिहान ९ बजेको टिकट काटिएपनि भिसा नआएपछि यात्रा तत्कालको लागि रोकिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भिसाको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको थियो । तर नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई भिजिट भिसा रद्द गरेको कारण यो समस्या आएको हो ।
तर क्यानले युएई सरकार त युएईको इमिरेट्स क्रिकेट बोर्डसँग समन्वय गरिरहेको प्रवक्ता छुम्पी लामाले जानकारी दिए। उनले आज वा भोलिसम्म भिसा आउने संभावना रहेको बताए । सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ । क्यानले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि–ट्वान्टी सिरिज भनेर नाम दिएको छ ।
यसको तयारीको लागि नेपाली टोली एक साता अगाडि युएई जाने तयारीमा रहेको थियो । यसै क्रममा हिजो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गरेका थिए । नेपालले टेष्ट मान्यता राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो । यो सिरिज खेलेर नेपाल टि–ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ ।









प्रतिक्रिया