
काठमाडौं, ३ असोज । नेकपा (एमाले)ले नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मनाउँदैछ । कार्यक्रम पार्टी मुख्यालय च्यासल परिसरमा बिहान ८ बजेबाट सुरु हुनेछ ।
जेनजी आन्दोलनका प्रदर्शनकारीको निशानामा परेको एमाले मुख्यालय तोडफोड र आगजनीले क्षतिग्रस्त छ । क्षतिग्रस्त पार्टी मुख्यालयबाटै एमालेले प्रतिकूल अवस्थामा संविधान दिवस मनाउन लागेको हो । प्रदर्शनकारीको निशानामा सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, नेताहरूको घर र केही व्यापारिक कम्प्लेक्सहरू पनि परेका थिए ।
एमालेले उपत्यकाका तीन जिल्लाका पार्टी कमिटी, उपत्यका विशेष कमिटी र जनसंगठनका नेता कार्यकर्ताहरूको सहभागितामा आज संविधान दिवस मनाउन लागेको हो ।
कार्यक्रमलाई पार्टीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ । हालैका राजनीतिक घटनाक्रमपछि केही दिन सैनिक ब्यारेकमा बिताएका अध्यक्ष ओली हिजो बिहीबार मात्र फर्किएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर ब्यारेकमा बसेका अध्यक्ष ओली बिहीबार बाहिर आएका हुन् ।
अध्यक्ष ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित अध्यक्ष ओलीको घर प्रदर्शनकारीले जलाएका थिए । बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् ।









प्रतिक्रिया