९ असार २०८३, मंगलबार

जेनजी आन्दोलनले प्रदेश सभाको भवन ध्वस्त, सचिवालय सेवा क्यान्टिनबाट सञ्चालन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २ असोज । बागमती प्रदेशमा जेनजी पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ ।

असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो । हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन् ।

सचिवालयका एक अधिकारीका अनुसार कुर्सीदेखि कार्यालय सञ्चालनका अत्यावश्यक सामग्रीसम्म प्रयोग अयोग्य भएका छन् । “बैठक चलाउने ठाउँ छैन, कर्मचारी क्यान्टिनमा बसेर काम गर्न बाध्य छन्,” उनले बताए ।

प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ताले करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवनसहित पुरानो भवन पनि जलाइएको र करिब ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए । गत साउन २७ गते मात्र उद्घाटन भएको नयाँ भवनमा जम्मा चारवटा बैठक मात्रै बसेको अवस्थामा पूर्णरूपमा ध्वस्त भएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार तत्काल प्रदेश सभाको बैठक सञ्चालन गर्ने अवस्था छैन । प्रदेश सभाको बैठक र समितिका बैठक अनिश्चितकालका लागि स्थगित भएका छन् भने कर्मचारीहरू अस्थायी स्थानमा बसेर सेवा दिइरहेका छन् ।