२४ जेष्ठ २०८३, आइतबार

आगजनी र डकैती गर्नेहरूको सीसीटीभी फुटेजसहित एनसेलले दियो प्रहरीमा उजुरी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा २४ भदौमा जेन–जी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहहरूले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ ।

उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्तिसमेत भराउन माग गरिएको छ ।

आन्दोलनको नाममा अपराधीहरूले समूह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गरेको एनसेलले जनाएको छ ।

भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालयभित्र प्रवेश गरी ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।

एनसेलले आफ्नो कार्यालयको दशवटै तलामा रहेका बहुमूल्य विद्युतीय समानहरू, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायतका सम्पूर्ण कार्यलयको काममा प्रयोग हुने सामानहरू डकैती गरी लगेको, कर्मचारीहरूलाई वितरण गरेको प्रत्येक लकर फोडी ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहनाहरू डकैती गरेको, मिटिङ हलमा रहेको टीभी, मोनिटरहरू तथा भवनको दोश्रो तलामा रहेको फिटनेशका सामानहरू बाहिर फाली केही उपकरण आगजनी गरी र अधिकांश उपकरणहरू डकैती गरी झिकेर लगेको उजुरीमा उल्लेख छ ।

कम्पनीका आफ्नै र तेश्रोपक्षबाट भाडामा लिएका महँगा मोटरगाडीहरू भेहिकल रूपबाट गाडीका साँचो नियन्त्रणमा लिई पालैपालो गरी भवनको आँगनमा ल्याई जलाएको र केही सवारीसाधन भवनको कम्पाउन्डबाहिर बाटोमा ल्याई आगो लगाई पूर्ण रूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडीहरू समेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाएको छ ।