
डोल्पा, ३०भदौ । डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । जिल्ला अस्पताल डोल्पामा पहिलो पटक छात्रवृत्ति करारमा आएका एमडीजीपी डाक्टर विदुर तिवारीको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भएको हो ।
अकस्मात् पेट दुख्ने समस्याले अस्पताल पुगेका त्रिपुरासुन्दरी नगरपालिका–४ राङ बस्ने १२ वर्षीय किशोर बुढाको शल्यक्रिया गरिएको डाक्टर अखण्ड उपाध्यायले बताए । डोल्पा जस्तो दुर्गम जिल्लामा पहिलो पटक सीमित स्रोत–साधन भएको अस्पतालमा सफल शल्यक्रिया गर्नु सुखद भएको उनको भनाइ छ ।
डाक्टर तिवारीको नेतृत्वमा डा. उपाध्याय, स्क्रब नर्स निर्मला बी.के., एनेस्थेसिया सहायक रञ्जित शाह, सहयोगी नर्स आस्था बुढा र सहयोगी डाक्टर डाक्टर नवीन शाहीसहितको टोली शल्यक्रियामा सहभागी थियो ।
यस्तै प्रकारको शल्यक्रिया गर्न नेपालगन्ज, सुर्खेतलगायतका सहरमा पुग्नुपरेमा एक लाखभन्दा धेरै खर्च लाग्ने भए पनि जिल्लामै शल्यक्रिया हुँदा सबै रकम जोगिएको भन्दै बुवा धनप्रसाद बुढाले खुसी व्यक्त गरे ।









प्रतिक्रिया