३१ जेष्ठ २०८३, आइतबार

एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले हराएको छ ।

आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ । जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिवम दुवे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । शाहिन शाह अफ्रिदीले तल्लोक्रममा १६ बलमा ४ छक्कासहित अविजित ३३ रन बनाउँदै पाकिस्तानको साख जोगाए ।

भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । स्पिनर अक्षर पटेल र जस्प्रित बुमराहले २–२ विकेट लिए । हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १–१ विकेट लिए ।

भारत समूह ए मा ४ अंकका साथ शीर्ष स्थानमा छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा ओमानलाई ९३ रनले हराएको पाकिस्तानले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । पाकिस्तानलाई सुपर फोरमा पुग्न अबको खेल पाकिस्तानले जित्नै पर्ने हुन्छ ।