३० असार २०८३, मंगलबार

निषेधाज्ञा हटेसँगै भक्तपुरको जनजीवन सामान्य बन्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २८ भदौ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज मध्याह्नदेखि निषेधाज्ञा एवं कर्फ्यू हटाएपछि यहाँको जनजीवन सामान्य बन्न थालेको छ । यही भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि सिर्जित अवस्थामा लगाइएको निषेधाज्ञा र कर्फ्यू हटेपछि जनजीवन सामान्य बन्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार जिल्लाको सुरक्षा व्यवस्था सुदृढ भएसँंगै कर्फ्यू स्थगित गरिएको जानकारी दिए । उनले आगलागीबाट क्षति पुगेका जिल्लाका सरकारी कार्यालहरूको क्षतिको विवरण सङ्कलन गर्ने कार्यसँगै कार्यालयहरूको सफाइ गर्ने र नियमित सेवा सञ्चालनका लागि प्रयास भइरहेको बताए ।

आज दिनभर भक्तपुरका सडकहरुमा सार्वजनिक यातायातबाहेकका अन्य यातायात सञ्चालन भएका छन् ।

नेपाली सेनाको टोली आज सडकमा छैनन् भने प्रहरीहरू नियमित काममा फर्कन थालेका छन् ।

आजदेखि बजारहरू खुलेका छन् भने नागरिकको आवतजावत बाक्लो बन्न थालेको भन्दै प्रजिअ घिमिरेले जनजीवन सामान्य बन्दै गइरहेको उल्लेख गरे ।