१६ असार २०८३, मंगलबार

संसद विघटनको विवादले अड्कियो सुशिलाको शपथ

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । संसद विघटनको मागलाई लिएर उत्पन्न विवादका कारण जेनजी समूहले प्रस्तावित गरेका प्रधानमन्त्री सुशीला कार्कीको शपथ प्रक्रिया अड्किएको छ।

स्रोतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीतर्फबाट प्रस्तावित कार्कीबीच निरन्तर छलफल भए पनि संसद विघटनको विषयमा सहमति जुट्न सकेको छैन। काठमाडौंका मेयर बालेन्द्र साह र जेनजीले संसद विघटनलाई आफ्नो ‘बटमलाइन’ बनाइरहेका छन्, तर राष्ट्रपति पौडेल त्यसमा सहमत नभएकाले अन्तिम टुंगो लाग्न सकेको छैन।

बिहीबार मध्यरातसम्म भएको छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जुटे पनि संविधानको कुन धारामा टेकेर नियुक्ति गर्ने भन्ने विषयमा विवाद देखिएको हो। संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र विघटनका लागि कानूनी आधार कमजोर हुने देखिएकाले अन्योल बढेको हो।

राष्ट्रपति पौडेलले यसबारेमा प्रधान सेनापति सिग्देल, सभामुख देवराज घिमिरे, संवैधानिक विज्ञ, जेनजी प्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै परामर्श गरिसकेका छन्। राजनीतिक दलहरूले पनि कार्कीलाई प्रधानमन्त्री मान्न तयार देखिएका छन् तर संसद विघटनमा सहमत छैनन्। उनीहरूले संसदीय प्रक्रियामार्फत कार्कीलाई प्रधानमन्त्री बनाउन सुझाव दिएका छन्।

स्रोतका अनुसार, जेनजी समूहले कानूनी सल्लाहकारका रूपमा अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारेको छ। संसद विघटनबारे अन्तिम सहमति जुटेपछि मात्र कार्कीको शपथ हुने जनाइएको छ।