
रामेछाप, २५ भदौ । रामेछाप जिल्लामा गएराति जारी गरिएको कर्फ्यू आदेश लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मन्थली र रामेछाप नगरपालिकाभित्रका संवेदनशील क्षेत्रमा पुनः कर्फ्यू लागू गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कफ्र्यू आदेश दिउँसो १२ बजेसम्म बढाएका छन् । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनि कफ्र्यु लगाइएको उनले जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सो निर्णय गरिएको प्रशासनले जनाएको छ । आदेशमा तोकिएका क्षेत्रमा कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा कुनै पनि प्रकारका गतिविधि गर्न रोक लगाइएको छ ।
कर्फ्यू आदेशअनुसार मन्थली नगरपालिका–२ को आकासे पुलदेखि दक्षिणतर्फ मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सीमास्थित सुकाजोर खोला पुल अर्थात् बिटारसम्मको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ ।
त्यस्तै, मन्थली–खुर्कोट सडकखण्डको सोलमारीस्थित सुकाजोर खोला पुलदेखि मदन आश्रित चोक हुँदै सानीमदौ सीटीईभीटीसम्मको आवतजावत रोकिएको छ । मन्थली नगरपालिका–१ का सम्पूर्ण क्षेत्रमा पनि कफ्र्यू जारी गरिएको छ भने रामेछाप नगरपालिका–८ भंगेरीदेखि गौरीशंकर माध्यमिक विद्यालय र रामेछाप अस्पतालसम्मको क्षेत्र समेत कफ्र्यु लगाइएको छ । यसअघि गएराति १० बजेदेखि आज बिहान ६ बजेसम्मको लागि सोही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो । तर अवस्था संवेदनशील रहन सक्ने आकलनसहित प्रशासनले फेरि आदेश थप गरेको हो। प्रमुख जिल्ला अधिकारी थापाले आवश्यकताअनुसार सुरक्षा संवेदनशीलता कायम गर्न कर्फ्यूलाई निरन्तरता दिनुपरेको हो ।
प्रशासनले तोकिएको समय र क्षेत्रभित्र सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गर्दै आदेश उल्लंघन गर्नहरूमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । नागरिकलाई संयमित रहन र सुरक्षा निकायलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।









प्रतिक्रिया