६ असार २०८३, शनिबार

भक्तपुरमा निषेधाज्ञा जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २४ भदौ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

आज बिहान ८ः३० बजेदेखि लागू हुने निषेधाज्ञा अर्को आदेश जारी नभएसम्मका लागि जारी गरिएको आदेशमा तोकिएको निर्धारित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेद्वारा जारी गरिएको आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र सूर्यविनायक नगरपालिकाभित्रको निर्धारित चार किल्लाभित्रका क्षेत्रमा कोही पनि मानिस आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलु, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी आदेश जारी गरिएको छ ।”

कार्यालयले जडीबुटी, राधेराधे, बालकोट, निकोसेरा, पेप्सीकोला क्षेत्रलाई सिमाना मान्दै ती क्षेत्रभित्रको जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र, पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म, कौशलटार बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म, राधेराधेचोकदेखि निकोसेरा चोकसम्म, बाखाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म, सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म, च्यामासिंह, ताथली हुँदै नाला (काभ्रे जिल्लाको सिमाना)सम्म, दुवाकोट मोडदेखि नेपाल इञ्जिनियरिङ कलेज क्षेत्र र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म निषेधाज्ञा जारी गरेको हो ।

स्थानीय सुरक्षा अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको बताउँदै प्रजिअ घिमिरेले अर्को आदेश नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको बताए ।