२८ जेष्ठ २०८३, बिहिबार

सल्यानमा मेयरका भाइ र वडाध्यक्षले पत्रकार कुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २३ भदौ । सल्यानका पत्रकार नोखिराम थापामाथि कुटपिट भएको छ । कुमाख राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक समेत रहेका थापालाई श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा गएराति बेलुकी ९ बजेतिर खाना खाइरहेका थापालाई ५–६ जनाको समूहले एकाएक कुटपिट गरेका थिए ।

शारदा नगरपालिका–६ का वडा अध्यक्ष भिकराज बुढाथोकी र प्रमोद भण्डारीको समूहले आफूलाई कुटपिट गरेको पत्रकार थापाले बताए । वडाध्यक्ष बुढाथोकी नेपाली कांग्रेसका नेता समेत हुन् भने भण्डारी शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका सहोदर भाइ हुन् ।

कुटपिटबाट थापाको टाउँको र आँखामा चोट लागेको छ । उनलाई उपचारका लागि श्रीनगरस्थित मेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनअघि सल्यान श्रीनगर बसपार्कसम्बन्धी समाचार लेखिएको कारण आफूलाई लक्षित गरी आक्रमण गरिएको पत्रकार थापाले बताए । उनले श्रीनगर बसपार्क हस्तान्तरण नहुँदै चिरा परेको समाचार प्रकाशित गरेका थिए । बसपार्कका ठेकेदार सँग प्रमोद र भिकराजको निकट सम्बन्ध भएको स्रोतको दाबी छ ।

पत्रकार थापा नेपाल पत्रकार महासंघ कर्णालीको प्रदेश परिषद् सदस्य र प्रेस चौतारी कर्णालीको प्रदेश कमिटी सदस्य हुन् ।

ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै पत्रकार थापाले कुटपिटमा संलग्न भएका विरुद्ध किटानी आज जाहेरी दिन जिप्रका जाँदैछन् ।

पत्रकार महासंघ सल्यान शाखा अध्यक्ष डिल्लीराज रावतले पत्रकार कुट्नेलाई कार्वाहीको माग गरेका छन् । ‘समाचार लेखेकै कारण मेयरका भाइ र वडाध्यक्षबाट पत्रकार कुटिको छ । यो दुःखद घटना हो ।’ उनले भने ‘मेयरका भाइ र वडाध्यक्ष भएकाले छुट दिन मिल्दैन । कानून बमोजिम कार्वाही हुनुपर्छ ।’