२२ असार २०८३, सोमबार

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित, प्रतिबन्ध हटाउन एनएएस–आईटीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (एनएएस–आईटी)ले गम्भीर चासो व्यक्त गरेको छ ।

एनएएस–आईटीका अनुसार यस्ता प्रतिबन्धले नेपालको आईटी उद्योग, सेवा प्रवाह, र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पारेको छ । एनएएस–आईटीले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रियस्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम कारवाहीमा ठूलो अवरोध ल्याएको छ ।’

विज्ञप्तिमा उल्लेख गरिएअनुसार ग्राहकहरूसँगको सञ्चार अवरुद्ध हुनु, परियोजना समन्वयमा ढिलाइ, तथा व्यावसायिक निरन्तरता संकटमा पर्नु जस्ता समस्याहरू उत्पन्न भएका छन् । एनएएस–आईटीले सरकारलाई प्रतिबन्ध यथाशीघ्र हटाउन र दीर्घकालीन समाधानका उपाय खोज्न आग्रह गरेको छ ।

एनएएस–आईटीले भनेको छ, ‘विश्व बजारमा नेपालको छवि र बढ्दो अवसर कायम राख्नका लागि सञ्चार माध्यममा अविच्छिन्न पहुँच अपरिहार्य छ ।’ साथै, संगठनले सरकारको सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सुनिश्चित गर्ने प्रयासलाई समर्थन जनाउँदै सेवा अवरुद्ध नगरी समाधान खोज्न तत्पर रहेको जनाएको छ ।