१५ असार २०८३, सोमबार

प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै एमालेको विधान महाधिवेशन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आइतबार सम्पन्न भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनसम्म चलेको महाधिवेशनले प्रस्तुत गरिएका सबै प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको हो।

समापन सत्रमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन पारित गरिएका छन्।

यस्तै, केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोग अध्यक्ष डा। पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा। विजय सुब्बाले प्रस्तुत गरेका प्रतिवेदन पनि अनुमोदन भएका छन्।

महाधिवेशनमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी छलफल गरिएको थियो। छलफलमा प्राप्त सुझावहरू आइतबार समूह नेताहरूले सभामा प्रस्तुत गरेका थिए।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न महाधिवेशनमा देशभरबाट आएका २,०२६ प्रतिनिधि र आयोजकसहित २,३४१ जना सहभागी भएका थिए।