१६ असार २०८३, मंगलबार

इन्डोनेसियाको शान्तिपूर्ण प्रदर्शन कसरी बन्यो हिंसात्मक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ भदौ । इन्डोनेसियामा एक सातादेखि चर्किएको सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । अगस्ट २५ मा संसद् भवनबाहिर थोरै सङ्ख्यामा मानिसहरू जम्मा भएर सुरु गरेको प्रदर्शन एक सातायता हिंसात्मक बन्दै गएको छ ।

अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु र सयौँ घाइते भएको बेलायतबाट प्रकाशन हुने अनलाइन पत्रिका द गार्डियनले जनाएको छ । आक्रोशित आन्दोलनकारीहरूले सरकारी भवनहरूमा तोडफोड र आगजनी गरेका छन् । क्षतिको मूल्याङ्कन झन्डै ३३ लाख अमेरिकी डलर बराबर रहेको पनि गार्डियनले जनाएको छ ।

राजधानी जकार्ताबाट सुरु भएको प्रदर्शन अन्य मुख्य सहरहरूमा पनि फैलिएको र देशव्यापी बन्दै गएको छ । सुलावेसी टापुको गोरोन्तालो र मकास्सर, जाभा टापुको बान्डुङ र योग्यकार्ता, सुमात्रा टापुको पालेमबाङ र बोर्नेओ टापुको बन्जारमसिनलगायतका मुख्य सहरहरूमा हिंसात्मक झडप भएको छ ।

जकार्तामा आन्दोलनकारीहरूले प्रहरीको मुख्यालय भएको भवनमै आगजनी गरेका थिए । उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । राष्ट्रपति प्रबोवो सुबियान्तोले सत्ता सम्हालेको एक वर्ष नपुग्दै ठूलो राजनीतिक चुनौती खेप्नुपरेको बताएका छन् ।

कसरी हिंसात्मक बन्यो प्रदर्शन?
गार्डियनका अनुसार अगस्ट २५ देखि प्रदर्शन सुरु भएको थियो । त्यतिबेला सरकारले सांसदहरूलाई आवास भत्ताका रूपमा प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर दिने निर्णय गरेको थियो ।

तीन हजार डलर भनेको इन्डोनेसियामा एक जना सांसदले पाउने तलबभन्दा १० गुणा बढी हो । त्यतिबेला सरकारले शिक्षा, स्वास्थ्यलगायत जनतालाई दिने आधारभूत सेवा–सुविधामा कटौती गरेर सांसदहरूको सेवा–सुविधा बढाएको भन्दै आक्रोश बढेको थियो ।

त्यसको विरुद्ध ‘गेजायन मेमाङ्गिल’ जस्ता विद्यार्थी समूहहरूले जकार्तास्थित संसद् भवनअगाडि जम्मा भएर प्रदर्शन गरेका थिए । त्यतिबेला प्रदर्शन शान्तिपूर्ण नै थियो । शान्तिपूर्ण प्रदर्शनका क्रममा गत बिहीबार राति प्रदर्शनकारीहरूको भीडमा विशेष अर्धसैनिक प्रहरी इकाइले बख्तरबन्द गाडी चलाएको थियो ।

बख्तरबन्द गाडीले एक जना २१ वर्षीय युवकलाई किचेको थियो । ती युवक फुड डेलिभरीको काम गर्थे। बख्तरबन्दले ठक्कर दिएपछि ब्याक गरी–गरी ती युवकलाई किचेर मारेको भिडियो सार्वजनिक भएपछि शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको थियो ।

त्यसपछि आन्दोलनकारीहरूले देशभरका सरकारी भवन र प्रहरी मुख्यालयमा आगजनी गर्न थालेका थिए । प्रमुख सहरहरूमा हिंसात्मक झडपहरू भए । मकास्सर सहरमा प्रदर्शनकारीले एक सरकारी भवनमा लगाएको आगोमा परेर तीन जनाको मृत्यु भयो। सोही सहरमा गुप्तचर अधिकारी भएको आशङ्कामा एक भीडले कुटपिट गर्दा अर्का एक व्यक्तिको ज्यान गएको थियो ।

प्रयोगकर्तामा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक विद्यार्थीको मृत्यु भयो । सोलो सहरमा प्रहरीले प्रहार गरेको अश्रुग्यासका कारण एक जना दमका बिरामी एक ६० वर्षीय रिक्सा चालकको मृत्यु भएको थियो ।

आन्दोलनका क्रममा अर्थमन्त्री श्री मुल्यानी इन्द्रावतीको घरमा लुटपाट भएको छ भने अन्य केही सांसदका घरमा पनि तोडफोड भएको गार्डियनले जनाएको छ । अधिकारीका अनुसार जकार्तामा मात्रै पाँच दिनको प्रदर्शनपछि १ हजार २४० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो ।

प्रदर्शन उग्र बन्दै गएपछि राष्ट्रपति प्रबोवोले सांसदलाई दिएको आवास सुविधाबापतको भत्ता फिर्ता लिने निर्णय गरेका थिए । उनले चीन भ्रमण रद्द गर्दै सुरक्षा बललाई प्रदर्शनकारीविरुद्ध कडाभन्दा कडा कदम चाल्न आदेश दिएका छन् ।

‘गैरकानुनी गतिविधिहरू भइरहेका छन्, जसले देशद्रोह र आतङ्कवादतर्फ डो¥याउन सक्छ । मैले प्रहरी र सेनालाई सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र लुटपाट गर्नेहरूविरुद्ध कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छु,’ उनले भनेका थिए ।

सेनाको गाडीले किचेर मृत्यु भएका चालकको घटनामा संलग्न सात प्रहरी अधिकारीमाथि छानबिन भइरहेको र पीडित परिवारलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । अन्तर्राष्ट्रिय समुदायले इन्डोनेसियाको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घले प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको आरोपबारे छानबिन गर्न माग गरेको छ । अमेरिका, अस्ट्रेलिया, फ्रान्स, क्यानडालगायतका देशहरूले आफ्ना नागरिकहरूका लागि यात्रा चेतावनी जारी गर्दै प्रदर्शन भइरहेका क्षेत्रहरूबाट टाढा रहन भनेका छन् ।