
पोखरा, २२ भदौ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा खेल्दै आएको ललितपुर क्विन्स अब घरेलु भलिबल प्रतियोगितामा पनि सहभागी हुने भएको छ ।
ललितपुर क्विन्सले पोखरामा टाइगर ग्रुपद्वारा आयोजना हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा भाग लिने निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिताको छैटौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुँदैछ । गत वर्ष सुरु भएको फ्रेन्चाइज लिग इडब्लुभीबाट ललितपुर क्विन्सले भलिबल खेल्न सुरु गरेको हो ।
राष्ट्रिय टोलीकी सलिना श्रेष्ठ मार्की एवम् कप्तान रहेको ललितपुर क्विन्स पहिलो संस्करणमा फाइनल पुगेको थियो । पोखरामा जारी इडब्लुभीमा ललितपुर क्विन्सले लगातार दुई खेल जितिसकेको छ ।
क्लबले अनुसार भलिबललाई व्यावसायिकरणतर्फ लैजान टाइगर कपमा सहभागिता जनाउने र आगामी दिनमा अन्य घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि निरन्तर उपस्थित रहने योजना रहेको छ ।








प्रतिक्रिया