
गोदावरी ललितपुर, २१ भदौ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि बाटो अबरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ ।
बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष ओलीले दुःख व्यक्त गरे ।

‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् । तर भइदियो । त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन बिलम्ब हुन गयो’, अध्यक्ष ओलीले भने, ‘भवितव्य घट्ना भएको । त्यस्तो क्षति पनि भएको छैन । यसमा हामी पनि दुःखी भएका छौं र बच्चीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
गोदावरी ललितपुर सनराईज सभाहलमा शुक्रबार बन्दसत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेश हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा। विजय सुब्बाले प्रतिवेदन पेश गर्दै छन् । प्रतिवेदन पेश भएपछि १० समूहमा छलफल हुनेछ ।
निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेश हुँदैछ ।
शुक्रबार अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले प्रतिवेदन पेश गरिसकेका छन् ।










प्रतिक्रिया