
काठमाडौं, २१ भदौ । त्रिकोणात्मक सिरिजको अन्तिम लिग खेलमा अफगानिस्तानले घरेलु टोली युएईलाई ४ रनले हराएको छ । योसँगै युएईले सबै खेल गुमाउँदै सिरिज अन्त्य ग¥यो ।
१ सय ७१ रनको लक्ष्य पछ्याएको युएईलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।
पहिलो तीन बलमै १२ रन निकाल्दा पनि अफगानी बलर फरीद अहमद मलिकले लगातार २ डट बल फ्याँके र अन्तिम बलमा आसिफ खानलाई आउट गर्दै अफगानिस्तानलाई जित दिलाए ।
युएईका अलिशान सराफु (२७) र मुहम्मद वासिम (४४) ले आक्रामक सुरुवात गरे । तर अफगानिस्तानका स्पिनर नुर अहमदले सराफुलाई आउट गर्दै टोलीलाई खेलमा फर्काए ।
वासिम र मुहम्मद जोहिब पनि आउट भएपछि दबाब बढ्यो । आसिफ खान अन्तिमतिर आक्रामक भए पनि (१३ बलमा ७ रनपछि तीब्र प्रहार गर्दै) अन्तिम क्षणमा जित दिलाउन सकेनन् ।
त्यसअघि, अफगानिस्तानले ४ विकेटको नोक्सानीमा १ सय ७०रन बनाएको थियो । इब्राहिम जादरान (४८) र रहमानुल्लाह गुरबाज (४०) बीच ९८ रनको साझेदारी भयो । करिम जनतले १४ बलमा २८ रन जोडे । पाकिस्तान र अफगानिस्तानबीच आइतवार फाइनल हुनेछ ।








प्रतिक्रिया