२५ जेष्ठ २०८३, सोमबार

‘इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले वृष्टि र उर्वरता प्राप्त हुने विश्वासकासाथ मनाइने इन्द्र जात्राले धार्मिक कार्य र परम्पराको निरन्तरता, सामाजिक ऐक्यवद्धता, मेलमिलाप र सहकार्य बढाउनुका साथै प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको बताएका छन् ।

शनिबार इन्द्रजात्राको शुभकामना सन्देश दिदैँ उनले यस्ता मौलिक पर्वहरूले प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न तथा आफ्नो मूल्य र परम्परालाई निरन्तरता दिन तथा विकसित बनाउन थप मद्दत पुग्ने विश्वास लिएको बताए ।

उनले भने, ‘धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–अर्चना गर्दै कुमारी (जीवित देवी), भगवान् गणेश र भगवान् भैरवको रथयात्रा गरी धुमधामकासाथ मनाउने परम्परा रहिआएको छ । वृष्टि र उर्वरता प्राप्त हुने विश्वासकासाथ मनाइने यस पर्वले धार्मिक कार्य र परम्पराको निरन्तरता, सामाजिक ऐक्यवद्धता, मेलमिलाप र सहकार्य बढाउनुका साथै प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ । शताब्दियौंदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न तथा आफ्नो मूल्य र परम्परालाई निरन्तरता दिन तथा विकसित बनाउन थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।’

उनले मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखासमेतका जिल्लाहरूमा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने पनि बताए ।