३१ आश्विन २०८३, शनिबार

एमाले विधान संशोधन प्रस्ताव : वरिष्ठ उपाध्यक्ष हटाउने, ७० वर्ष उमेर सीमा नरहने

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत संशोधन प्रस्ताव अनुसार पार्टीको केन्द्रीय कमिटी अब २ सय ५१ सदस्यीय हुने भएको छ। यसअघि ३ सय १ सदस्यीय संरचना कायम गरिएकोमा घटाएर १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय बनाइने प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका हुन्।

संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाइएको छ भने उपाध्यक्षको संख्या ६ बाट घटाएर ३ मात्र रहने उल्लेख छ। पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ गरी कुल १५ रहने प्रस्ताव छ। पदाधिकारीमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

स्थायी कमिटीलाई पनि ४५ सदस्यबाट घटाएर १५ पदाधिकारीसम्म सीमित गर्ने र पोलिटव्युरोको संख्या बढीमा एक तिहाई हुनेगरी निर्वाचनमार्फत पूर्ति गर्ने प्रस्ताव गरिएको छ। यससँगै पार्टी सदस्यतालाई दुई प्रकारमा — साधारण र संगठित सदस्य — विभाजन गर्ने व्यवस्था पनि अघि सारिएको छ। साधारण सदस्यको ६ महिनाको परिक्षणकाल रहने र संगठित सदस्य अनिवार्य रूपमा कुनै न कुनै कमिटीमा आबद्ध हुनुपर्ने प्रस्ताव छ।

संशोधन अनुसार पार्टीका ७ वटा केन्द्रीय निकायलाई वृद्धि गरेर ८ बनाइनेछ। साथै, सचिवालय र केन्द्रीय कार्यालयको संरचना हटाएर महासचिवले अध्यक्षको निर्देशनमा काम गर्ने व्यवस्था हुनेछ।

अध्यक्षको अधिकार पनि थपिएको छ। अब अध्यक्षले केन्द्रीय निकायको अध्यक्षता गर्ने, प्रतिवेदन पेस गर्ने, बैठक सञ्चालन तथा प्रमाणीकरण गर्ने र अन्तरपार्टी निर्देशन जारी गर्ने अधिकार पाउने प्रस्ताव गरिएको छ।

कमिटीमा उम्मेदवार हुन पार्टीको स्कूल विभागले आयोजना गर्ने प्रशिक्षण अनिवार्य गरिएको छ। तर हाल विद्यमान कमिटीमा रहेका उम्मेदवारका लागि भने छुट दिइनेछ। साथै, ७० वर्ष उमेर सीमा हटाउने प्रस्ताव गरिएको छ। यसअघि विधानमा रहेको प्रावधानलाई २०८० वैशाखमा केन्द्रीय कमिटीले नै निस्क्रिय बनाएको थियो।

प्रदेश, जिल्ला र तल्लो संरचनाको बैठक समयसीमा पनि तोकिएको छ। केन्द्रीय कमिटीको बैठक ६ महिनामा, प्रदेश कमिटीको ४ महिनामा, जिल्ला कमिटीको ३ महिनामा, पालिकाको २ महिनामा र वडा कमिटीको बैठक महिनामा एकपटक बस्ने व्यवस्था प्रस्तावमा समावेश छ।