५ श्रावण २०८३, मंगलबार

विराटनगर किङ्सको आयोजनामा सांगीतिक कार्यक्रम हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० भदौ । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा भोलि शनिबार एक रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस कार्यक्रममा नेपालका चर्चित युवा गायक नितेशजंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन् । साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ–आफ्नो प्रस्तुतिमार्फत साँझलाई थप रोमाञ्चक बनाउने छन् ।

शनिबार साँझ ४ः३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ । तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने टिमका समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइनेछ । यस विशेष पहलमार्फत टिमले आफ्ना समर्थकप्रति आभार प्रकट गर्दै कोशी प्रदेशका सम्पूर्ण दर्शकलाई ‘कोशीको गौरव, हाम्रो पहिचान’ भन्ने मूल मन्त्रमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमबारे बोल्दै विराटनगर किङ्सका मालिकहरूमध्ये एक वेङ्कटेश मुन्द्राले भने, “विराटनगर किङ्स परिवारले सदैव क्रिकेटमार्फत मानिसहरूलाई एकताबद्ध गराउँदै आएको छ । अब संगीत, संस्कृति र उत्सवमार्फत पनि हामी समर्थकसँग नजिक हुन चाहन्छौँ । यो कन्सर्ट हाम्रा समर्थकलाई आभार व्यक्त गर्दै नेपाल प्रिमियर लिगअघि कोशीको उत्साहलाई अझ प्रबल बनाउन आयोजना गरिएको हो ।”

नेपाल क्रिकेट संघका अनुसार आगामी नेपाल प्रिमियर लिग (एनपीएल)मा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मंसिरदेखि सुरु हुने तय भएको छ ।