२५ जेष्ठ २०८३, सोमबार

प्रास्तावित सगरमाथा विमानस्थल घाँसे मैदानमा परिणत, हजारौं रुख काटेर वन क्षेत्र बनाइयो उजाड

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २० भदौ । उदयपुरमा निर्माण गर्न लागिएको प्रास्तावित सगरमाथा आन्तरिक विमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ । जिल्लाको त्रियुगा नगरपालिका १ र २ को जोगीदहमा रहेको शिवालय धार्मिक वन, कंग सामुदायिक वन र मोतिहायी सामुदायिक वनको एकसय ५६.११ हेक्टर वनमा प्रास्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्ने भन्दै एक सय ५ हेक्टर वन उजाड पारिएको छ । अहिले यो क्षेत्र घाँसे मैदानका रुपमा परिणत भएको हो ।

तत्कालीन सरकारले विनायोजना हचुवाको भरमा विमानस्थल बनाउने भन्दै ठूलो परिमाण वन फडानी गरेर उजाड बनेपछि यो क्षेत्र अहिले घाँसे मैदानमा परिणत भएको स्थानीयले आरोप लगाएका छन् । सगरमाथा विमास्थल निर्माणको लागि स्थानीयस्तरबाट सहयोग गर्न बनेको प्रारम्भिक कमिटीका कोषाध्यक्ष समेत रहेका स्थानीय रुद्र अधिकारीले विमानस्थल बन्ने नबन्ने त्यो आफूहरुलाई थाहा नभएको बताउँदै हरियाली वन क्षेत्र विनाश गरेर अहिले घाँसे मैदान बनाइएको र यस क्षेत्रमा स्थानीयले गाईभैँसी चराउने चराउने गरेको बताए ।

सगरमाथा विमानस्थलको नाममा जोगिदहका तीन सामुदायिक वनको एकसय ५ हेक्टर वन क्षेत्र फडानी गरेर उजाड बनाइएको छ । उजाड बनाइएको खुला जग्गा समेत अहिले संरक्षणको अभावमा वेवारिसे जस्तै बनेको हो ।

विमानस्थाल बनाउन; स्थान छनोट, प्राविधिक, सामान्य आर्थिक अध्ययन, सामाजिक, पर्यावरीणीय, कानुनी अध्ययन लगायतलाई फिजिविलिटी अध्ययन भनिन्छ । यो विमानस्थल निर्माणको प्रारम्भिक चरण हो । यही फिजिविलिटी अध्ययनको प्रतिवेदनलाई आधार मानेर उदयपुरमा प्रस्तावित सगरमाथा विमान निर्माण गर्ने नाउमा वन क्षेत्र फडानी भएपछि यो क्षेत्र गौचरण बनेको हो ।

डिभिजन वन कार्यालय गाईघाट उदयपुरका प्रमुख घनेन्द्र श्रेष्ठले प्रस्तावित सगरमाथा विमास्थलका लागि आवश्यक वन क्षेत्रको जग्गा नेपाल उड्यान प्राधिकरणका नाममा गइसकेको बताए । उनले अहिले उजाड भएको गौचरण क्षेत्र र रुख कटान गर्न बाँकी रहेको तर प्राधिकरणका नाम स्वामित्व हस्तान्तरन भएको वन क्षेत्र समेतको संरक्षण गर्ने जिम्मा नागरिक उड्यान प्राधिकरणको भएको बताए ।

उजाड बनेको खाली जग्गा प्रयोगमा ल्याउन स्थानीयहरुले सामुहिक केरा खेती लगायतका अन्य खेती गर्नुपर्ने माग गर्न थालेका छन् । उनीहरुले निश्चित मापदण्ड बनाएर स्थानीयलाई सामुयिक केरा खेती गर्न दिँदा जग्गा समेत संरक्षण हुने र स्थानीयहरु समेत आत्मनिर्भर हुने उनीहरुले बताएका छन् ।

तत्कालीन शेरबहदुर देउवा प्रधानमन्त्री रहेका बेला २५ भदौ २०७८ मा मन्त्रिपरिषद्को बैठकले वन ऐन २०७६ को दफा ४२ अनुसार प्रर्वधक नेपाल नागरिक उड्यान प्राधिकरणलाई सगरमाथा आन्तिरिक विमानस्थलको भौतिक पूर्वाधारहरु निर्माण गर्नको लागि एक सय ५६.११ हेक्टर वन क्षेत्र खाली गर्न अनुमति दिएको डिभिजन वनका प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार गत २४ माघ २०७८ मा वन ऐन २०७६, वन नियमावली २०५१ तथा राष्ट्रिय प्रथामिकता प्राप्त योजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने सम्बन्धी मापदण्डसहितको कार्यविधि २०७६ अनुसार नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग र नेपाल नागरिक उड्यान प्राधिकरणको सम्झौता भएपछि वन क्षेत्रका रुख काटिएको हो ।

स्थानीय धनकुमार श्रेष्ठले वन क्षेत फडानी गरिएको क्षेत्रमा सल्लक परेका, राम्रा र काम लाग्ने रुख रहेको तर रुख सबै काटिएको बताए । उनले केही काठ सामुदायिक वन समूहमार्फत स्थानीय उपभोक्ताले समेत लिएका बताए । केही कटान भएको रूख भने बिक्री भएको बताए । अहिले यो वन क्षेत्र खाली घाँसे मैदान भएसँगै यो क्षेत्र अतिक्रमणको जोखिममा परेको छ । डिभिजन वन कार्यालयका गाईघाटले जग्गा विमानस्थलको नाममा गएको भनेपनि जिल्ला मालपोत कार्यालय उदयपुरका प्रमुख डुविन्द्रप्रसाद बरालले सगरमाथा विमानस्थलको नाममा जग्गा दर्ता नभएको बताए ।

उनले भने, ‘त्यो जग्गा अहिले वन क्षेत्रकै सरकारी जग्गा हो । वनले कानुनी प्रक्रिया पुर्‍याएर रुख काटेको होला । हाम्रो कार्यालयबाट टिप्पणी नउठिकन विमानस्थलको नाममा त्यो उजाड भएको जग्गा जाँदैन । त्यस जग्गाको संरक्षण गर्ने जिम्मा अहिले पनि वनकै हुन्छ ।’

सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नतेले विमानस्थलको नाममा एकसय ५ हेक्टर वन क्षेत्र उजाड बनेको प्रति गुनासो व्यक्त गरे । उनले तत्काल विमानस्थल बन्छ भनेर सामुदायिक वन समूहहरुले रुख काट्न सहमति दिएका थिए तर अहिलेसम्म विमानस्थल बन्छ भन्ने कुनै पनि टुंगो नभएको भन्दै यसले ठूलो चिन्ता र चासो बढाएको बताए । अध्यक्ष बस्नेतले प्रास्तावित सगामाथा विनास्थल योजानको डिपीआर नै नबनिकन वन क्षेत्र उजाड गरिएको समेत बताए । विमानस्थल निर्माणको लागि अन्य नदी उकासका जग्गा, खाली चौर प्रशस्त हुँदाहुँदै वन फडानी गर्नु दुखद् रहेको बस्नेतको भनाई छ । चुनावीमा प्रपोकाण्ड मच्चाउन विमानस्थलको हल्लाले वन क्षेत्र उजाडिएको उनले आरोप लगाए ।

त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले विमानस्थल नबने पनि अब त्यस जग्गालाई भविष्यमा उपयोगमा ल्याउने गरी नगरपालिकाले घेराबेरा गरेर संरक्षण गर्ने बताए । उनले भने, ‘विमानस्थल बन्ने नबन्ने कुनै पनि टुंगो छैन् । अहिलेसम्म विस्तृत परियोजना (डिपीआर) प्रतिवेदननै नबनेको आफूले सुनेको समेत बताए । उनले वन फडानी भएको क्षेत्राको अतिक्रमण हुन नदिने समेत बताए ।

यता, नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउतले डीपीआर तयार गर्ने विषयमा सरकारले हालै बजेटमा व्यवस्था गरेको सुने पनि तीन वर्षअघि वन फाडनी गर्नु गलत भएको बताए । उनले भने, ‘विमानस्थलका लागि विस्तृत योजना नै तयार नभएको अवस्थामा रुख काट्ने निर्णय गरेर वातावरणमा असर पार्ने काम तत्कालीन सरकारले गरेको छ ।’ राउतले भने; उदयपुरमा विमानस्थल बन्नुपर्छ । तर, अन्य क्षेत्र हुँदा हुँदै वन क्षेत्र रोजेर रुख काट्नु गलत थियो ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र उदयपुरका १ का सांसद डा. नारायण खड्काले जहाँ विमानस्थल बनाउने भनिएको छ त्यहाँ अब बन्ने प्रक्रिया सुरु भएको बताए । उनले भने, ‘विमानस्थल बनाउन हामी लागिपरिरहेका छौँ । प्रारम्भिक अध्ययन पुरा भएर रुखहरु पनि कटान भएको छ । अब सगरमाथा विमानस्थलको विस्तृत परियोजना (डिपिआर) बन्ने छ । यसभन्दा अघि रुखहरु कटान गर्न प्राविधिक अध्ययन मात्र थियो ।’ अहिले उदयपुरमा विमानस्थल बनाउने प्रक्रिया सुरु भएको समेत उनले दाबी गरे ।

जोगीदह क्षेत्रमा विमानस्थल बनाउने भनेपछि स्थानीय स्तरमा विमानस्थल निर्माण योजनलाई सघाउन निर्माण भएको स्थानीयको सगरमाथा विमानस्थलका प्रारम्भिक कमिटीका अध्यक्ष महेन्द्रबहादुर बस्नेतले पछिल्लो समयमा गएको पुसमा उदयपुरको प्रास्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणमा बजेट अभावका कारण कार्य रोकिएर भ्रमण अनुगमनमा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री बद्रीप्रसाद पाण्डेले बताएको गुनासो गरे । उनले भने, ‘त्यस बेला पाण्डेसहित नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी, मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय, उदयपुर निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद डा. नारायण खडका आउनु भएको थियो ।’ उनले त्यसबेला मन्त्री पाण्डेले बजेट अभावको कुरा देखाउँदै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरी विमानस्थल निर्माणको कार्य सुरु गर्नुपर्ने सुझाव दिएको बताए ।

डिपिआर नभइकन कसरी बन्छ ?

नागरिक उड्यान प्राधिकरण नेपाल नागरिक उड्यान प्राधिकरणका एरोड्रम इन्जिनियरिङक विभागका प्रमुख हरिप्रसाद अधिकारीले सुरुमा फिजिविलिटी स्टडी मात्र भएको जानकारी दिँदै डिपिआर नभएको बताए । उनले भने, ‘फिजिविलिटी अध्ययन अनुसार सगरमाथा विमानस्थल निर्माण गर्न ३ देखी ४ अर्ब लाग्ने कुरो छ । अब डिपिआर नबनिकन कसरी भन्नु ।’

यता नेपाल नागरिक उड्यान प्राधिकरणका प्रवक्ता बबुराम पौडेलले उदयपुरमा विमानस्थल बन्ने विमानस्थल बनाउँदा अपनाउनु पर्ने मापदण्ड पुग्ने भएपनि बजेट अभाव भएको बताए । उनले भने, ‘सगरमाथा विमानस्थल बनाउने प्रयाप्त बजेट नभएर नबनेको हो ।’

यस्तो छ उदयपुरे जनतामा विमानस्थलको सपना

२०७४ सालको प्रदेश र संघीय आम निर्वाचनको समयमा त्यस जोगीदह क्षेत्रमा सगरमाथा विमानस्थल निर्माण क्षेत्र भनेर नेपाली कांग्रेसले बोर्ड राखेर अभियान चलाएको थियो । त्यसपछि त्यही योजना अनुसार रुखहरु पनि काटिएका हुन् । त्यसभन्दा अघि २०३१ देखि नै जिल्लामा विमानस्थल निर्माण गर्ने भनिए पनि २०८३ बित्न लाग्दासम्म बनेको छैन् ।

विमानस्थल निर्माणका लागि गाईघाटको हाल थारुह रंगशाला रहेको क्षेत्रमा पहिलोपटक शिलान्यास गरिएको थियो । प्राविधिक हिसावले विमानस्थल बन्न नसक्ने भएपछि दोस्रो पटक गाईघाट नजिककैको उत्तराइटोलमा चर्चा गरियो । त्यहाँ पनि नबन्ने भएपछि जोगीदह पुर्‍याइएको हो ।

जब निर्वाचन नजिकिन्छ तब विमानस्थल निर्माणको एजेण्डाले अन्य एजेण्डालाई ओझेल पार्छ । तर, निर्वाचन सकिएपछि एजेन्डा विस्तारै सलाउँदै जाने जाने गरेको विमानस्थल नबनेको आम बुभाइ छ । गाईघाटका शिव दाहालले भने, ‘चुनाव सकिए लगत्तै चर्चा सेलाउँछ ।’ निर्वाचित प्रतिनिधिहरूले पनि यसलाई बिर्सिने गरेका छन् ।