काठमाडौं, २० भदौ । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेकसम्बन्धी विषयमा चीनका राष्ट्रपति सी जिनपिङसँग आफ्नो प्रष्ट अडान राखेको बताएका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, “चीनका राष्ट्रपतिसँगको औपचारिक वार्तामा मैले लिपुलेकसम्बन्धमा असहमति प्रष्टसँग प्रकट गरेको थिएँ। भारत र चीनले हाम्रो भूमिबाट व्यापार आदान–प्रदान गर्ने सम्झौता गर्न मिल्दैन भन्ने कुरा स्पष्ट भनिएको हो। यो कुरा अडियो, भिडियो र दुई देशको आधिकारिक नोटमा समेत रेकर्ड छ।”
उनका अनुसार, असहमति राखेपछि राष्ट्रपति जिनपिङले नेपालको सार्वभौमसत्ता प्रभावित नहुने आश्वासन दिएका थिए। ओलीले उद्धृत गर्दै भने, “चीनका राष्ट्रपतिले भन्नुभयो– तपाईंहरूको आशंका हामी बुझ्छौँ। नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न दिइने छैन। सीमाको विषय नेपाल र भारतबीचको हो, त्यसलाई कूटनीतिक रूपमा समाधान गर्नुस्।”
प्रधानमन्त्री ओलीले सीमासम्बन्धी समस्या भारतसँग छलफल गरेर समाधान गर्ने पक्षमा आफूहरू रहेको समेत बताएका छन्।















प्रतिक्रिया