काठमाडौं, २० भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टर प्रमुख, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूको उपस्थितिमा ‘लिडरसिप फर ट्रान्सफर्मेसन इन लुम्बिनी : अ सेमिनार अन ड्राइभिङ पर्फर्मेन्स एण्ड रिजनल एक्सिलेन्स’ शीर्षकमा सेमिनार सम्पन्न गरेको छ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गत आर्थिक वर्षको प्रगतिमाथि समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल भएको थियो। केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा समेत गहन अन्तरक्रिया गरिएको थियो। हालै अन्य प्रदेशमा सम्पन्न यस्तै सेमिनारहरूको निरन्तरतामा लुम्बिनी प्रदेशमा पनि यो कार्यक्रम आयोजना गरिएको हो।
सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ऋण, निक्षेप तथा खुदब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, आधार दर कम गर्ने तथा ऋण जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्न सफल भएको जनाएको छ।
बैंकले हालै ‘बैंक अफ द इयर २०२४’ को प्रतिष्ठित उपाधि प्राप्त गरेको छ। यससँगै नेपालमै पहिलो पटक फोनपे सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। त्यस्तै, फ्रीलान्सरहरूलाई लक्षित गरी ‘फ्रीलान्सर सेविङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा ऋण खाता नम्बर सेवा लिन सकिने सुविधा, र ‘क्रस बैंक टेलर’ सेवामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद लिन सक्ने सुविधा सुरु गरेको हो ।
हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ३४ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।









प्रतिक्रिया