२९ जेष्ठ २०८३, शुक्रबार

इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको जानकारी गराएको हो । यो निर्णय सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९ गतेको मन्त्रिस्तरीय बैठकको निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार गरिएको हो ।

आईएसप्यानका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन पठाएको छ, जसअनुसार ती सञ्जालहरू बन्द गरिँदैछ ।

आईएसप्यानले भदौ १७  गते नै नेपाल सरकारलाई पत्र पठाएर आवश्यक तयारीको जानकारी गराइसकेको थियो । अब नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा ती सामाजिक सञ्जालहरू क्रमशः बन्द गरिनेछ । संघले प्रयोगकर्ताहरूलाई पर्नसक्ने असुविधाप्रति क्षमायाचना गर्दै अन्य सामाजिक सञ्जालहरू भने यथावत रूपमा चलिरहेको जानकारी पनि दिएको छ ।

आईएसप्यानका अध्यक्ष सुधिर पराजुलीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा, ‘ग्राहक महानुभावहरूलाई हुने असुविधाका लागि क्षमाप्रार्थी छौँ,’ भन्ने उल्लेख छ ।

बन्द गरिन लागिएका प्रमुख सामाजिक सञ्जालहरूः

१. फेसबुक
२. फेसबुक मेसिन्जर
३. इन्स्टाग्राम
४. युट्युब
५. ह्वाट्सएप
६. ट्वीटर (एक्स)
७. लिंक्डइन
८. स्न्यापच्याट
९. रेडिट
१०. डिस्कोर्ड
११. पिन्टरेस्ट
१२. सिग्नल
१३. थ्रेड्स
१४. विच्याट
१५. क्वोरा
१६. टमब्लर
१७. क्लबहाउस
१८. म्यास्टोडन
१९. रम्बल
२०. मिवी
२१. भीके
२२. आइएमओ
२३. जालो
२४. सोल
२५. हाम्रो पात्रो ।