१५ असार २०८३, सोमबार

सोरठी नाचसहित ‘रिमै’को प्रिमियर, मनछुने फिल्म बनेको प्रतिक्रिया

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ भदौ । यही शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘रिमै’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको छ । बुधबार साँझ काठमाडौंको रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा उपस्थित सेलिब्रेटीहरूले फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरे । प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक पहिचान झल्काउने सोरठी नाच समेत प्रस्तुत गरिएको थियो ।

अभिनेता तथा निर्देशक विल्सन विक्रम राईले ‘रिमै’ मनछुने फिल्म बनेको बताए । यो हालसम्म गुरुङ समुदायमाथि बनेको उत्कृष्ट फिल्म रहेको उनको दाबी छ । ‘रिमै’मा महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका कलाकार माओत्से गुरुङले पनि गुरुङ समुदायमाथि राम्रो फिल्म बनेको प्रतिक्रिया दिँदै सबै समुदायका दर्शकलाई फिल्म हेर्न आग्रह गरे ।

गायक थानेश्वर गौतमलाई भने फिल्मले भावुक बनाएछ । प्रिमियरपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने, ‘यो साँचिक्कै राम्रो फिल्म बनेको छ । सबै नेपालीले एकपटक हेर्नैपर्ने फिल्म हो यो । गुरुङ समुदायको संस्कृतिलाई फिल्मले अत्यन्त सुन्दर ढंगले देखाएको छ । मलाई फिल्मले पटक–पटक भावुक बनाएर रुवायो ।’

प्रिमियरमा आकर्षणको केन्द्रविन्दू बनेकी फिल्मकी मुख्य अभिनेत्री रिश्मा गुरुङले ८ वर्षपछिको कमब्याकलाई लिएर आफू उत्साहित रहेको बताइन् । उनले ‘रिमै’लाई ‘कबड्डी’को रूपमा नहेर्न पनि आग्रह गरिन् । ‘मैयाँ र काजीको जोडी धेरैपछि आएकाले दर्शकहरूलाई ‘कबड्डी’ जस्तो लागेको हुनसक्छ । तर, ‘रिमै’को कथा फरक छ । त्यतातिरको कथा यता नजोड्न अनुरोध गर्छु ।’

फिल्मका निर्देशक खिलबहादुर गुरुङ आफूले विगत ३ वर्षयता रातदिन ‘रिमै’बाहेक अरू केही नसुनी काम गर्दाको परिणाम प्रिमियरमा पाउँदा खुसी लागेको बताए । ‘हामीले इमान्दारीताका साथ फिल्म निर्माण गरेका छौं । प्रिमियरमा मिलेको प्रतिक्रियाले हाम्रो मिहिनेत सफल भएको ठानेको छु,’ निर्देशक गुरुङले भने । यो उनी निर्देशित दोस्रो फिल्म हो ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ, बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ । फिल्मको छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन् ।