
सल्यान, १८ भदौ । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको पूर्वी बागर, छेनागाडमा गएको शुक्रबार बिहान आएको बाढी–पहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ कालागाउँका ४९ वर्षीय शरद आग्री, उनका २४ वर्षीय छोरा दीपक आग्री र वडा ५ राउचका ६९ वर्षीय भीमबहादुर बुढा छन् । वनगाड कुपिण्डे नगरपालिका–६ का वडा अध्यक्ष गणेश बिसीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा साउन १६ गते सल्यानबाट भारत गएका थिए ।
“बेपत्ताको खबर परिवारमार्फत पाएका हौँ । बिहान ३–४ बजेतिर आएको लेदोसहितको पहिरोले उनीहरू सुतेकै अवस्थामा बस्ती पुरिएको जानकारी छ,” वडा अध्यक्ष बिसीले भने ।
उक्त पहिरोमा ४ जना नेपाली र ४ जना भारतीय गरी कम्तीमा ८ जना बेपत्ता भएको पुष्टि भएको छ । बेपत्ता भएकामध्ये जुम्ला घर भएका अर्का एक नेपालीको परिचय खुल्न सकेको छैन ।
बेपत्ता भीमबहादुर बुढाका छोरा सुरेश बुढाले पनि खोजी कार्यमा कठिनाइ भएको वताए । उनका अनुसार गाउँ विकट र अप्ठ्यारो ठाउँमा भएकाले खोजीमा समस्या भइरहेको छ । चार दिनसम्म कुनै सम्पर्क नहुँदा परिवारले काजकिरिया गर्न तयारी थालेको बताइएको छ ।
१२ भदौको राति भएको अविरल वर्षापछि आएको बाढी–पहिरोले रुद्रप्रयाग जिल्लाको पूर्वी बागर क्षेत्रको छेनागाड गाउँमा ठूलो क्षति पु¥याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १३ भदौको बिहान आएको लेदोसहितको बाढीले त्यहाँका १५ भन्दा बढी घर र पसल बगाएको छ ।









प्रतिक्रिया