२९ जेष्ठ २०८३, शुक्रबार

कुवेतमा विषाक्त मदिरा सेवनका पीडितहरूको अंग झिकेर अरूलाई दान

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ भदौ । कुवेतमा हालै विषाक्त मदिरा सेवनबाट बिरामी भएका तथा ज्यान गुमाएका पीडितहरूले अंगदान गरी धेरैको जीवन बचाएका छन् । उक्त घटनामा १६० जना बिरामी भएका थिए भने २३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १३ जना नेपाली रहेका छन् ।

कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेती सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार ५१ जनालाई तत्काल मिर्गौला डायलाइसिसको आवश्यकता परेको थियो भने ३१ जनालाई भेन्टिलेटरमा राखिएको थियो । यस घटनाका दोषीहरूलाई कारबाही गर्ने क्रममा अवैध मदिरा उत्पादन र वितरणमा संलग्न ६७ जना पक्राउ परेका छन् ।

कुवेतको अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. मुस्तफा अल–मुसावीले कुवेतको सरकारी टेलिभिजन केटीभीसँगको अन्तर्वार्तामा बताएअनुसार सघन उपचार कक्षमा भर्ना भएका करिब २० जनामध्ये १२ जनालाई ब्रेन डेड घोषणा गरिएको थियो । तीमध्ये १० जनाको परिवारले अंगदानका लागि सहमति दिए ।

यी १० जनाबाट चिकित्सकहरूले २० वटा किड्नी, तीनवटा मुटु, चारवटा कलेजो र दुईवटा फोक्सो संकलन गरिएको कुवेती टाइम्सले उल्लेख गरेको छ । फोक्सोबाहेक अन्य सबै अंगको सफल प्रत्यारोपण भएको थियो ।

पछिल्ला पाँच दिनमा तीनवटा मुटु प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो । कलेजो प्रत्यारोपण कार्यक्रम अस्थायी रूपमा रोकिएकोले कुवेती बिरामीहरूका लागि कलेजो अबुधाबी पठाइयो थियो । भने मुटु र मिर्गौला प्रत्यारोपण गरियो ।

अंग प्रत्यारोपणको लागि डाक्टरहरूले प्रत्येक अंगको परीक्षण गरेका थिए । मिर्गौलाको लागि रगत परीक्षण, कलेजोको लागि इन्जाइम र इमेजिङ परीक्षण, मुटुको लागि चिकित्सा इतिहास मूल्याङ्कन र फोक्सोको लागि ब्रोन्कोस्कोपी र स्क्यान प्रयोग गरिएको थियो ।

उनले मृतक दाताबाट अंग प्रयोग गर्नु उच्च प्राथमिकता हुने र यसलाई अनन्त परोपकारको रूप मानिएको उनको भनाइ थियो । नेपाली, भारतीय, बंगलादेशी लगायतका विभिन्न देशका आप्रवासी श्रमिकहरूले विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु भएको थियो । त्यस्तै १६० जना घाइते भएका थिए ।

उक्त घटनापछि कुवेतको सुरक्षा निकायले अवैध मदिरा कारखानाहरूलाई विषाक्त रसायन आपूर्ति गर्ने प्रमुख गोदाममा छापा मारेको थियो । हावाली अनुसन्धान विभागको प्रतिनिधित्वमा रहेको सामान्य आपराधिक अनुसन्धान विभागले अल–राई क्षेत्रको यो मुख्य गोदाम कब्जा गरेको थियो ।

कुवेतको गृहमन्त्रालयले अभियानका क्रममा आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा २५८ जना व्यक्तिहरूलाई पक्राउ गरेको थियो । विषाक्त मदिरा सेवनपछि विरामी परेर अस्पताल डिस्चार्ज गरेकाहरू प्रहरीले पक्राउ गरेर देश निकाला समेत गरेको थियो ।