१ असार २०८३, सोमबार

इन्डोनेसियामा २० जना प्रदर्शनकारी बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ भदौ । इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् । कानून निर्माताहरूको सुविधाको विषयलाई लिएर प्रहरी विरुद्ध आक्रोश पोख्दै भएको हिंसात्मक विरोध प्रदर्शनपछि उनीहरू बेपत्ता भएको जनाइएको छ ।

गत हप्ता दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रमा भएको विरोध प्रदर्शन अर्धसैनिक प्रहरीले एक युवा डेलिभरी ड्राइभरको हत्या गरेको भिडियो सार्वजनिक भएपछि भड्किएको थियो । यस क्रममा कम्तीमा छ जनाको मृत्यु भएको थियो ।

“सेप्टेम्बर १ सम्म २३ जना बेपत्ता भएको रिपोर्ट आएको थियो । खोजी र प्रमाणीकरणपछि २० जनाको अवस्था अझै अज्ञात छ”, बेपत्ता र हिंसाका पीडितका लागि आयोग (कन्ट्रास) ले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जाभा टापुको बान्दुङ र देपोक सहरका साथै राजधानी क्षेत्रअन्तर्गत मध्य, पूर्वी र उत्तरी जकार्तामा ती व्यक्तिहरू बेपत्ता भएको समूहले जनाएको छ । एक घटना भने ‘अज्ञात स्थान’ मा भएको बताइएको छ ।

राष्ट्रिय प्रहरीले यसबारे एएफपीको प्रश्नमा तत्काल प्रतिक्रिया जनाएन । तर जकार्ताका मेट्रोपोलिटन प्रहरी प्रमुख एसेप एडी सुहेरीले सोमबार पत्रकार सम्मेलनमा भने, ’गस्ट २५ यता राजधानीमा भएको प्रदर्शनमा एक हजार दुई सय ४० जना पक्राउ परेका छन् ।’

देशभरका सहरहरूमा फैलिएको असन्तुष्टिपछि राष्ट्रपति प्रबोवो सुबिआन्तो सांसदका सुविधाबारे पुनर्विचार गर्न बाध्य भएका हुन् । उनी सत्तामा आएपछि यसअघि भएका सबैभन्दा ठूलो विरोध प्रदर्शन यिनै हुन् ।

मङ्गलबार संसद् अगाडि महिला समूहहरूको गठबन्धनले थप प्रदर्शन गर्ने तयारी गरिरहेको थियो । यसअघि उनीहरूले सोमबारको प्रदर्शन भने रद्द गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घले पनि प्रदर्शनका क्रममा ‘असमान बल प्रयोग’ भएको आरोपमा छानबिन गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भने, ’संसदीय भत्ता, मितव्ययिता उपाय र सुरक्षा बलद्वारा भएको बल प्रयोगका घटनालाई लिएर हामीले इन्डोनेसियाको हिंसा गम्भीरतापूर्वक हेरिरहेका छौँ ।’