
बागलुङ, १६ भदौ । कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।
लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौं, पोखरा जाने सवारी साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा यातायातका साधान कानाबगरमा रोकिएको अध्यक्ष पौडेलको भनाइ छ ।
सडक खुलाउन निरन्तर प्रयास भइरहेको उनको भनाइ छ । निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्ने गर्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको अध्यक्ष पौडेलले बताए । वर्षा हुने वित्तिकै माथिदेखि लेदो झरेर सडकमा थुप्रिँदा यातायात सञ्चालनमा कठिनाइ भएको पौडेलले बताए ।
अध्यक्ष पौडेलले भने, “यसपाली ठूलो बाढी आयो, त्यसले गर्दा सवारी साधन आवागमन ठप्प भएका छन् । लोकमार्गमा काम गर्ने मेसिन मगाएर खुलाउने प्रयास गरेका छौँ, एकतर्फी भए पनि खुलाएर यात्रुलाई गन्तव्यमा पठाउनुपर्छ भनेर लागेका छौँ । सबै सडक सफा गर्न त धेरै समय लाग्छ, सडक त पूरै बगरमा परिणत भएको छ ।”









प्रतिक्रिया